‘अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कूटनीतिज्ञको भूमिका महत्त्वपूर्ण’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कूटनीतिज्ञहरुको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदूतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तक्र्रियामा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कूटनीतिज्ञहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने मन्त्री श्रेष्ठले बताएका हुन् ।
सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास उनले व्यक्त गरे । राजदूतावास, स्थायी नियोग, महावाणिज्य दूतावास तथा अवैतनिक वाणिज्य दूतावासहरूले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । राजदूतहरूले व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
पर्यटन विस्तारका लागि हवाई उडानको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उनले सरकारले हवाई यातायात र विमानस्थलहरुलाई सुरक्षामैत्री बनाउने बताए । नेपालको हवाई उडानलाई ईयूको ‘सुरक्षा चासो’ को सूचीबाट हटाउन पहल गर्ने उनले बताए । साथै उनले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश विन्दु खुला गरिदिन आग्रह गरिएको बताउँदै आफ्नो कार्यकालमा नयाँ प्रवेश विन्दु खुला हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नवनियुक्त तथा प्रस्तावित राजदूतहरूले नेपालको पर्यटन विस्तारका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरू गर्ने प्रतिबद्धता जनाएका थिए ।








प्रतिक्रिया