बिहीबार, जेठ २, २०८२

नोर्ड स्ट्रीम वनबाट जर्मनी आपूर्ति गरिने ग्यास १० दिन अवरूद्ध हुने

नेपालखोज २०७९ असार २७ गते २१:२१

मस्को । रूसी ग्यास जर्मनी जाने बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम–वनबाट १० दिनका लागि आपूर्ति अवरुद्ध भएको छ । उक्त पाइपलाइनको रूसी–ग्यास कम्पनी ग्याजप्रोमले वार्षिक तालिकाअनुसार मर्मतसम्भार कार्यका लागि उक्त कदम चालिएको जनाएको छ ।

यद्यपि, जर्मनीका मन्त्रीहरूले बर्लिनमाथि दबाब दिनका लागि राजनीतिक रूपले उक्त कदम चालिएको बताएका छन् । जर्मनीका अर्थमन्त्रीले रूसबाट ग्यास आपूर्ति बन्द हुने सम्भावनाबारे युरोपेली देशहरू तम्तयार रहनुपर्ने बताएका छन् । चेक रिपब्लिकका उद्योगमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी गर्दै रोबर्ट ह्याबेकले युरोपेली युनियनका सदस्यबीच नै विमति उत्पन्न हुने गरी ग्यास आपूर्तिको मुद्दालाई रूसले उपयोग गरिरहेकोमा चिन्ता व्यक्त गरे ।

जर्मनीको ऊर्जा नियामकले पनि विगतकै परिमाणमा अब ग्यास आपूर्ति निरन्तर रहनेमा आशङ्का व्यक्त गरेको छ । यसअघि नै ग्यास आपूर्ति साविकमा हुनेको ४० प्रतिशत मात्रै हुने गरेको थियो । मस्कोले आर्थिक प्रतिबन्ध तथा टर्बाइनमा समस्यालाई त्यसको कारण बताएको थियो ।

प्रतिक्रिया