शुक्रबार, पुष ४, २०८२

नेकपा एकता राष्ट्रिय अभियानले भन्यो- हतियार खरिद कार्य खारेज गर

नेपालखोज २०७९ असार २८ गते १६:१५

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानले हातहतियार तथा गोलीगठ्ठा खरिद कार्य खारेज गर्न गृहमन्त्रालयसँग आग्रह गरेको छ । नेपाल प्रहरीको लागि हतियार किन्न आवश्यक पर्ने भनिएको ९३ करोड ९९ लाख ७५ हजार रुपैयाँ खर्च भन्ने खबरप्रति ध्यानाकर्षण भएको अभियानले जनाएको छ ।

नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो बन्छ भनेर चौतर्फी आवाज उठिरहेका बेला करिब एक अर्ब रुपैयाँ बजेट हतियार खरिदको नाममा बाहिरिनु नराम्रो पक्ष भएको अभियानका संयोजक युवराज सफलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

हतियार खरिद गर्दा करोडौँ रुपैयाँ कमिसनको खेल चलेको र ल्याउन लागिएको हतियार १० बर्षअघि नै काम नलाग्ने रहेको अभियानले जनाएको छ । खरिद गर्न लागिएको हतियारलाई प्रचलित मुल्यभन्दा चारगुणा बढी मूल्य दिन लागिएको भन्ने समाचार प्रकाशन तथा प्रसारण भएकाले हतियार खरिदको नाममा करोडौँ रुपैयाँ भ्रष्टाचार गर्न खोजिएको जनाइएको छ ।

इटालियन बेर्रेटा कम्पनीमा बनेका हातहतियार किन्ने काम खारेज गर्न अभियानले माग गरेको हो । अभियानका संयोजक सफलद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘यदि अभियानको आग्रहलाई बेबास्ता गरे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य निकायमा आवश्यक कारबाहीको लागि निवेदन दिइनेछ । भ्रष्टाचारमा संलग्नलाई जनकारबाही गर्न पनि बाध्य हुने छौं ।’

प्रतिक्रिया