शुक्रबार, पुष ४, २०८२

किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान

नेपालखोज २०७९ असार २९ गते ११:४१

झापा । सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् ।

विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार सुपारी जोन क्षेत्रका कृषकले आम्दानी बढाउन सकिने कदम चाल्न आग्रह गरेका छन् ।

परियोजनाले चालु आर्थिक वर्ष २०७८/७९ मा सुपारी किसानलाई उत्पादन र बजारीकरणमा सहज तुल्याउने उद्देश्यले प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा सहकारी र व्यक्तिले सञ्चालन गरेको उद्योगमा लगानी गरेको कार्यालय प्रमुख रवीन्द्र सुवेदीले बताए । झापामा २०७५ साउनदेखि सञ्चालनमा आएको सुपारी जोन कार्यक्रमपछि किसान उत्साहित छन् । जोनमा समावेश गरिएको सुपारी बालीमा पूर्वाधार विकास, व्यवसायीकरण एवं प्रशोधनतर्फ केन्द्रित रहेर परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सरकारले प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ लाई समेट्ने गरी ७८८ हेक्टर जमिनमा सुपारी जोन कार्यक्रम सञ्चालन गरेको सुवेदी बताउनुहुन्छ । चालु आवमा सुपारी जोनअन्तर्गत दुई सुपारी प्रशोधन उद्योग र दुई सुपारीको पातबाट दुनाटपरी बनाउने उद्योगलाई ५० प्रतिशत अनुदान रहने गरी ८० लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको उनले जानकारी दिए ।

विगत ३० वर्षदेखि सुपारी खेती गर्दै आएका मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका केदार रिजाल सुपारी प्रशोधन उद्योग सञ्चालनमा आएसँगै खुसी छन् । उनले परियोजनाको २० लाख रुपैयाँ तथा आफ्नो २० लाख रुपैयाँ लगानीमा सुपारी प्रशोधन उद्योग स्थापना गरे । उनलाई परियोजनाले सुपारीको बोक्रा छोडाउने मेसिन, प्याकेजिङ, कटिङ मेसिन खरिद र गोदाम घर निर्माणका लागि अनुदान उपलब्ध गराएको छ । आफूले मात्र होइन स्थानीयले उत्पादन गरेको सुपारी खरिद गरी प्रशोधन गरेर बजीकरण गर्ने गरेको रिजालले बताए ।

‘यो अनुदानले राहत मिलेको छ’, उनले भने, ’अब आधुनिक किसिमले प्रशोधन गर्दा जनशक्ति कम लाग्ने र काम गर्न सजिलो भएको छ ।’ खरिद बिक्री केन्द्र सञ्चालन गर्दै आएका रिजालले मेसिनको सहयोगमा एक घण्टामा १० किन्टल सुपारी छोडाउने गरेको बताए ।

परियोजनाले बुद्धशान्ति गाउँपालिका–१ स्थित श्री कृष्ण सुपारी सहकारीलाई २० लाख रुपैयाँ ५० प्रतिशत अनुदान सहयोग प्रदान गरेको छ । यो जिल्लाकै ठूलो सुपारी प्रशोधन उद्योग हो । सुपारी जोनका अध्यक्ष निलकण्ठ तिवारीका अनुसार जिल्लामा करिब दुई हजार ७०० हेक्टर जमिनमा सुपारी खेती हुँदै आएको छ । सुपारी जोन कार्यक्रमपछि उत्पादन बढेको छ । किसानले नयाँ प्रविधिबारे ज्ञान हासिल गरेका छन् ।

यसअघि सरकारले सुपारी जोनका लागि बजेट नछुट्याउँदा काम गर्न नसकिएको तिवारी बताए । सुपारी जोनका लागि सङ्घीय सरकारसँग सात करोड रुपैयाँ बजेट माग गरेको अध्यक्ष तिवारीले बताए । सुपारी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया