शुक्रबार, वैशाख २८, २०८१

‘बोल्दैनन् हनुमानहरु किन हरे अस्तित्व पोल्दा पनि…’

नेपालखोज २०७९ असार ३० गते १६:०१

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजद्वारा सञ्चालित मासिक शान्ति काव्य प्रवाहको ८९औँ कार्यक्रम काठमाडौंमा गरिएको छ । काव्य प्रवाहमा कविहरुले आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका सन्दर्भमा श्रद्धान्जलिसहित कविता वाचन गरेका थिए । यसैगरी कविहरुले विद्यमान दूरावस्थाप्रति आक्रोश व्यक्त गरेका थिए ।

‘देशै दाउ लगाउँदै सब लुटी डुक्रेर नाचेपछि
उम्रेलान् कसरी नवीन बिरुवा संस्कार मासेपछि ।
केही सार हुँदैन भित्र यिनले आदर्श बोल्दा पनि
बोल्दैनन् हनुमानहरु किन हरे अस्तित्व पोल्दा पनि ।।’

कवि प्रा. डा. जीवन अधिकारीले प्रस्तुत गरेको किन ? शीर्षकको कविताको अंश हो यो ।

काव्य प्रवाहमा कविहरु गोविन्दप्रसाद घिमिरे वेदमणि, रत्ननिधि रेग्मी, बाबुराम लामिछाने, दुर्गाकिरण तिवारी, जसध्वज गुरुङ, विमला दाहाल, प्रीति कौर, रश्मि रिमाल, उर्मिला पन्त पाण्डेय, कुशुम शर्मा, जनार्दन अधिकारी धड्कन, त्रिभुवनचन्द्र वाग्ले, रवीन्द्र आशिष शैली, रुद्र अधिकारी, भुवन शिवाकोटी चौघरे, मुकुन्द न्यौपाने, कृष्ण कँडेल, कृष्ण पहाडीसहित १९ जनाले कविता वाचन गरेको समाजका महासचिव रामकृष्ण बरालले विज्ञप्तिमार्फत जनाएका छन् ।

कार्यक्रममा सहभागी कविहरुलाई शान्ति समाजद्वारा हालै प्रकाशित कविता संग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रदान गरिएको थियो । कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनीले स्रष्टाहरुको सम्मान हुन नसके समाज समृद्ध नहुने भन्दै साहित्य आराधन र स्रष्टा सम्मान शान्ति समाजको निरन्तर अभियान भएको बताए ।

शान्ति समाजका महासचिव रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न काव्य प्रवाहको सञ्चालन शान्ति समाज काठमाडौं शाखाका सभापति भगवान पुडासैनीले गरेका थिए ।

प्रतिक्रिया