कांग्रेसकी पुष्पा भुसाल उपसभामुखमा निर्वाचित

नेपालखोज २०७९ असार ३१ गते १७:१८

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

संघीय संसदमा शुक्रबार भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सांसद भुसालले १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् ।

भुसालको पक्षमा १४८ र विपक्षमा अर्थात् एमालेकी विद्या भट्टराईको पक्षमा ९३ मत खसेको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसका तर्फबाट सचेतक थिइन् । २०७४ सालमा पनि उनलाई कांग्रेसले उपसभामुखको उम्मेद्‌वार बनाएको थियो । तर उनी नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् ।

२०७४ मा उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन् । त्यसयता उपसभामुख पद रिक्त थियो ।

प्रतिक्रिया