‘नेपाल-भारत छिमेकी मात्र नभइ बहुआयामिक सम्बन्ध भएको राष्ट्र हो’

नेपालखोज २०७९ असार ३१ गते १८:१४

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार शिष्टाचार भेट भएको हो ।

भेटको सुरुमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्ति नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारत सम्बन्धले थप उचाई प्राप्त गर्ने अपेक्षा गरे । अध्यक्ष तिमिल्सनाले नेपाल–भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध रही आएको उल्लेख गर्दै भने, ‘नेपाल–भारत छिमेकी राष्ट्र मात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ । हामीमध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ । त्यसैले हाम्रो सम्बन्ध विशेष छ ।’

छिमेकी देश भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो ‘नेबरहुड फर्स्ट पोलिसी’ अन्तर्गत छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्त्व दिने नीतिको अध्यक्ष तिमिल्सिनाले प्रशंसा गरे । ‘नेपाल र भारतबीचको बहुआयामिक एवं गहन सम्बन्धका विविध आयामलाई सुदृढ तुल्याउन दुई देशको सरकारले प्रथामिकता दिइरहेको छ,’ उनले भने, ‘त्यसको उदाहरणका लागि भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू नेपाललाई प्रथामिकता दिएर पाँचपटक राजनीतिक तथा धार्मिक भ्रमण गरिसक्नुभएको छ । नेपालको तर्फबाट पनि उच्चस्तरीय भ्रमणहरू भइरहेका छन् ।’

अध्यक्ष तिमिल्सिनाले नेपाल र भारतको सीमा क्षेत्रमा बर्सेनि बाढी र डुबान कारणमा जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि सहकार्य र विगतमा दुई देशबीच भएका विभिन्न सम्झौता कार्यान्वयन आवश्यक रहेको बताए । भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले भारतले नेपालमा आर्थिक तथा प्राविधिकलगायत विभिन्न क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

उनले दुई देशका संसदबीचको सम्बन्ध विस्तारका लागि नेपालको संघीय संसदमा नेपाल–भारत संसदीय मैत्री समूह रहेको र यसबाट दुईदेशका संसदबीच सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा राखे । अध्यक्ष तिमिल्सिनाले राजदूत श्रीवास्तवमार्फत भारतको राज्यसभाका सभापति वेनकाय नायडुको सुस्वास्थ्यको कामना तथा भारतीय जनताको प्रगति र समृद्धिको कामना गरे । साथै सभापति नायडुलाई सन् २०२२ भित्र नेपाल भ्रमणका लागि राजदूतमार्फत आमन्त्रणसमेत गरे ।

भेटका क्रममा राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको लामो र मित्रवत् सम्बन्धलाई आफ्नो कूटनीतिक अनुभव र क्षमताको प्रयोग गरी थप मजबुद बनाउन भूमिका खेल्ने उल्लेख गरे । साथै उनले दुई देशबीच राजनीतिकसँगै आर्थिक सम्बन्धलाई पनि मजबुद र विस्तार गर्नुपर्ने उल्लेख गरे । राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको व्यापारिक सन्तुलनका लागि जलविद्युत्, पर्यटन र कृषिमा प्रथामिकताका साथ काम गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया