शनिबार, जेठ ५, २०८१

कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका-२०७९ जारी

पाँच लाख रुपैयाँसम्मको क्षतिको मूल्याङ्कन बिमक आफैंले र सोभन्दा बढीको मूल्याङ्कन सर्भेयरबाट

नेपालखोज २०७९ असार ३१ गते १८:४४

काठमाडौं । बिमा समितिले कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका- २०७९ यही पर्सि (साउन १ गते) देखि लागु हुनेगरी आज (शुक्रबार) जारी गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को वार्षिक बजेटमा जडीबुटी खेतीको बिमा गर्ने व्यवस्था मिलाउने उल्लेख गरे अनुसार समितिले जडीबुटी बिमासमेत समावेश गरी कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ जारी गरेको हो ।

निर्देशिकामा बिमा कम्पनीहरूले आफूलाई तोकिएका जिल्लामा कृषि, पशुपन्छी तथा जडीबुटीको बिमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि ज्ञान केन्द्र वा कृषि तथा पशु सेवा कार्यालय नजिकको स्थानमा बिमकले शाखा कार्यालय खोल्नुपर्ने, बिमक आफैंले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बिमालेखको हकमा अनुदान प्राप्त नहुने, बिमकले अनुदान प्राप्त नहुने बिमालेखको हकमा छोटो अवधिका लागि बिमालेख जारी गर्न सक्ने र कृषि, पशुपन्छी तथा जडीबुटी बिमा सामूहिक रूपमा गर्न सकिने व्यवस्था रहेको छ ।

यसैगरी, पशुपन्छी बिमालेखमा उल्लेख भएको हकमा बिमालेखबमोजिम र अन्यको हकमा बजार मूल्य, बिजक मूल्य र स्थानीय चलनचल्तीको मूल्यलाई आधार लिई आपसी सहमतिका आधारमा बिमाङ्क कायम गर्नुपर्ने, कृषि तथा जडीबुटी बिमालेखमा उल्ल्लेख भएको हकमा बिमालेखबमोजिम र अन्यको हकमा नेपाल सरकार वा प्रदेश सरकारको विषयगत कार्यालय वा कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा सम्बन्धित उत्पादक संघ, संस्था वा बोर्डले उपलब्ध गराएको (साबिकको बजार अनुसन्धान तथा तथ्याङ्क कार्यक्रम) लागत अनुमानका आधारमा बिमाङ्क कायम गरिने व्यवस्था निर्देशिकामा गरिएको छ ।

बालीहरूको लागतका आधारमा बिमाङ्क रकम कायम गर्दा मुलुकका सातै प्रदेशका भौगोलिक क्षेत्रहरूमा लगाइने बालीहरूको खेती गर्दा लाग्ने लागत खर्च तथा उत्पादित वस्तुहरूको कृषक थलोमूल्य बिमा समितिद्वारा तयार नहुन्जेल कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको (साविकको बजार अनुसन्धान तथा तथ्याङ्क कार्यक्रम) लागत अनुमानका आधारमा बिमाङ्क कायम गर्नुपर्ने, बिमा अभिकर्ताको प्रयोग नगरी सीधै बिमालेख बिक्री (प्रत्यक्ष बिमा) गरिएको अवस्थामा कुल बिमा शुल्क गणना गरेपश्चात पाँच प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्नुपर्ने र बिमकले आफूलाई तोकिएको जिल्लामा आफूलाई प्राप्त कृषि, पशुपन्छी तथा जडीबुटी बिमाको प्रस्ताव अस्वीकार गर्न नपाउने व्यवस्था निर्देशिकामा गरिएको छ ।

यसैगरी, कृषि, पशुपन्छी तथा जडीबुटी बिमा दाबीअन्तर्गत दुर्घटना बिमाबाहेक कृषि, पशुपन्छी तथा जडीबुटी बिमा दाबीको पाँच लाख रुपैयाँ सीमासम्मको क्षतिको मूल्याङ्कन बिमक आफैले र सोभन्दा बढीको क्षतिको मूल्याङ्कन क्षति मूल्याङ्कनकर्ताबाट र यसैअन्तर्गतको कृषि, पशुपन्छी तथा जडीबुटी बिमाबाहेक अन्य भौतिक सम्पत्तिको पाँच लाख रुपैयाँसम्मको क्षतिको मूल्याङ्कन बिमक आफैंले र सोभन्दा बढीको क्षतिको मूल्याङ्कन इजाजतपत्र प्राप्त बिमा सर्भेयरबाट गराउनुपर्ने, वास्तविक मूल्यभन्दा बढी रकमको बिमाङ्क कायम गरी बिमा गराएमा त्यस्तो बिमालेख स्वतः रद्द हुने, प्राविधिकका रुपमा कार्य गर्ने व्यक्ति तथा संस्थाले कृषि, पशुपन्छी तथा जडीबुटी बिमा अभिकर्ता भई काम गर्न पाउने व्यवस्था निर्देशिकाले गरेको छ ।

यस्तै, बिमितले प्रक्रियागतरुपमा आवश्यक कागजात र चाहिने बिमाशुल्क सहितको बिमा प्रस्ताव बिमकलाई बुझाउँदा पनि बिमालेख जारी गर्न असहयोग गरेमा वा ढिलासुस्ती गरेमा वा नमानेमा बिमा समितिमा उजुरी गर्न सकिने, व्यक्तिगत तथा संस्थागत प्राविधिकले कृषि तथा पशुपन्छी बिमा अभिकर्ताका रूपमा कार्य गर्दा एउटै बिमालेखमा प्राविधिक र अभिकर्ता भई कार्य गर्न नपाउने र कृषि, पशुपन्छी तथा जडीबुटी बिमामा संस्थागत प्राविधिक, अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको आधारभूत तालिममा सहभागी भई प्रमाणपत्र लिएका संचालक वा प्रतिनिधिले आफू कार्यरत संस्थाका अन्य पदाधिकारी वा प्रतिनिधिलाई पुनः तालिम दिनुपर्नेलगायत व्यवस्था निर्देशिकामा गरिएका छन् ।

कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ लागु भएपश्चात् यसअघि कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ बमोजिम भए गरेका सम्पूर्ण कार्यहरू यसै निर्देशिका बमोजिम भए गरेको मानिने छ भने कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ खारेज गरिएको समितीले जानकारी दिएको छ ।

प्रतिक्रिया