शनिबार, पुष ५, २०८२

नारायणकाजीले दोहोर्‍याए- आजको आवश्यकता वाम तालमेल र एकता

नेपालखोज २०७९ साउन १ गते १२:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम तालमेल र एकता नै आजको आवश्यकता भएको बताएका छन् । उनले त्यसका लागि सबै इमानदार भएर अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो । त्यसका निम्ति सम्बन्धित सबैले गम्भीर आत्म-आलोचक भावसहित इमानदार अग्रसरता देखाउनुपर्छ,’ सामाजिक सन्जाल फेसबुकमा उनले लेखेका छन् ।

राजधानीमा हिजो (शनिबार) आयोजित एक कार्यक्रममा पनि उनले वामपन्थी शक्तिबीचको तालमेल, मोर्चा र एकताको आवश्यकतामा जोड दिएका थिए ।

बेलैमा बुद्धि नपुर्याए पछुतो मात्र बाँकी रहला भन्दै उनले सचेतसमेत गराएका छन् । उनले लेखेका छन्, ‘बेलैमा बुद्धि पुर्‍याऔं, नत्र धेरै ढिलो भइसकेको हुन सक्नेछ । त्यसबेला पछुतो मात्र बाँकी होला कि ! समयमै सोचौं ।’

नेचिफ्स भन्ने संस्थाले गरेको कार्यक्रममा श्रेष्ठसँगै प्रमुख अतिथिका रुपमा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मात्र वामपन्थी भएको खालको धारणा राखेका थिए । ओलीको उक्त अभिव्यक्तिको श्रेष्ठले आज फेसबु्कमार्फत आलोचना गरेका हुन् । ‘क. ओलीले प्रम हुँदा संविधानको प्रावधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन,’ श्रेष्ठले लेखेका छन्, ‘यसले अहं त तुष्टि गर्ला तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्याउने छैन ।’

उनले समयमै बुद्धि पुर्याउन कम्युनिस्ट घटकहरुलाई आग्रहसमेत गरेका छन् । ‘फेरि पनि म भन्छु, राजनीतिलाई व्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो । त्यसका निम्ति सम्बन्धित सबैले गम्भीर अत्म-आलोचक भावसहित इमानदार अग्रसरता देखाउनुपर्छ । बेलैमा बुद्धि पुर्‍याऔं, नत्र धेरै ढिलो भइसकेको हुन सक्नेछ । त्यसबेला पछुतो मात्र बाँकी होला कि ! समयमै सोचौं ।’

प्रतिक्रिया