शनिबार, जेठ ५, २०८१

सीएनआईको प्रतिवेदन- उद्योगहरूको आयको वृद्धि दरमा गिरावट, उत्पादन क्षमतामा ह्रास

नेपालखोज २०७९ साउन ३ गते १२:४८

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपालका उद्योगहरूको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंक सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

चालु आव ०७८÷७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदनअनुसार दोस्रो त्रैमासको तुलनामा यस अवधिमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको देखिएको छ।यस अवधिमा उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ६६ दशमलव ८१ प्रतिशत उपयोग गरेको देखाएको छ । दोस्रो त्रैमासमा यस्तो क्षमताको उपयोग ७१ प्रतिशत थियो ।

अध्ययन (माघ, फागुन र चैत) अवधिमा उत्पादनमूलक उद्योगले औसतमा १० दशमलव ९६ प्रतिशत (गत वर्षको सोही अवधिमा नौ दशमलव चार प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औसतमा १० दशमलव ९२ प्रतिशत ब्याज तिरेको पाइएको छ । उत्पादनमूलक उद्योगहरूले आफ्नो चालु पुँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अघिल्लो त्रौमासमा चालु पुँजी ३४ दशमलव चार प्रतिशत ऋण लिएका थिए ।

अध्ययनमा सहभागीमध्ये ८२ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन् । प्रतिवेदनले चालु आर्थिक वर्ष ०७८÷७९ को दोस्रो त्रैमासको तुलनामा चालु त्रैमासमा उद्योगको आय वृद्धिदर १२ दशमलव ८२ प्रतिशत रहेको देखाएको छ । दोस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७ दशमलव एक थियो ।

यस अंकको औद्योगिक अवस्थिति प्रतिवेदन यस वर्षको मौद्रिक नीतिलाई केन्द्रित गरेर तयार गरिएको छ । मौद्रिक नीति र यसको उद्देश्य, तुलनात्मक अध्ययन, नेपाल उद्योग परिसंघले आर्थिक वर्ष ०७९÷८० को मौद्रिक नीतिमा दिएको सुझाव समेत प्रतिवेदनमा समावेश छ ।

प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री बडूले यस प्रकारको नियमित औद्योगिक प्रतिवेदनले नेपालको औद्योगिक वातावरणको चित्रण गर्न सहयोग पुग्ने उल्लेख गरे । साथै उनले उद्योगमा प्रयोग हुने जेनेरेटरले खपत गर्ने तेलको परिणाम प्रस्ट्याउने र हाल उद्योगमा रहेका कोइलाबाट चल्ने बोइलरलाई बिजुलीबाट प्रतिस्थापन गर्न लाग्ने लागतको सन्दर्भमा समेत अनुसन्धान हुन जरुरी रहेको बताए ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजार मागमा उल्लेख्य गिरावट आएको र यसले उद्योगको आयमा ह्रास ल्याएको बताए । उनले यसप्रति संवेदनशील हुन सरकारलाइ आग्रह गरे । उनले निजी क्षेत्रका तर्फबाट नेपालमै पहिलोपटक परिसघंले सर्वेक्षण गरेर औद्योगिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको बताए र परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई हरेक त्रैमासमा प्रकाशन गर्दै लगिएको बताए । यस्ता प्रतिवेदनले निजी क्षेत्रमाथिको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने उनको भनाइ छ ।

परिसंघअन्तर्गतको रिसर्च सेलले उद्योगहरूसँगको सर्वेक्षणका आधारमा प्रतिवेदन तयार पारेको हो । यो प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति निर्माणका लागि सहयोग गर्ने परिसंघको विश्वास छ । उद्योगसँग चासो राख्ने सम्पूर्ण सरोकारवालाका लागि प्रतिवेदन महत्त्वपूर्ण अध्ययन सामग्रीका रूपमा उपयोगी हुने विश्वास परिसंघको छ ।

प्रतिक्रिया