शनिबार, जेठ ५, २०८१

सभामुखलाई चेम्बरले भन्यो- रोकिएका आर्थिक विधेयक चाँडै अघि बढाइयोस्

नेपालखोज २०७९ साउन ३ गते १५:१८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकलाई अघि बढाउन सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज (मंगलबार) भएको भेटमा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ विधेयक अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुन नसकेको बताएका थिए ।

धितोपत्रसम्बन्धी ऐन संशोधन गर्नेसम्बन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा छ । यस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशेधन गर्नेसम्बन्धी विधेयक पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ । बिमासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्न पहल गरिदिन अध्यक्ष मल्लले सापकोटासँग आग्रह गरे । उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधिसभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्रसँग सम्बन्धित सबै विधेयक संघीय निर्वाचनअघि पारित गराउन म सभामुखज्यूलाई आग्रह गर्दछु, ।’

सभामुखसँगको भेटका क्रममा अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउनसमेत आग्रह गरे । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रवर्द्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानकर्षण गराए । संघीय निर्वाचनअघि अर्थतन्त्रसँग जोडिएका सबै विधेयक पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लको भनाइ छ ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकलाई अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए । सभामुख सापकोटाले भने, ‘केही विधेयक अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु, । बजेटसँग सम्बन्धित विधेयक करिब–करिब सकिएको छ । अरू विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’

छलफलका क्रममा रहेका आर्थिक विधेयकका सम्बन्धमा सम्बन्धित समितिका सभापतिहरूसँग जानकारी लिनेसमेत सभामुख सापकोटाले आश्वासन दिए । सबै आर्थिक विधेयकलाई प्राथमिकतामा राखेर अघि बढाउन आफूले पहल गर्ने सापकोटाको भनाइ छ । सभामुखसँगको भेटमा चेम्बरका पदाधिकारीले केही विधेयक संसदीय समितिमा झन्डै ४ वर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया