तातोपानीमा एक करोड ४६ लाखमा खानेपानी आयोजना निर्माण

नेपालखोज २०७९ साउन ४ गते १६:२६

म्यग्दी । बेनी नगरपालिका–४ तातोपानीमा खानेपानी योजना निर्माण भएको छ । एक करोड ४६ लाख रुपैयाँको लागतमा निर्माण भएको योजनाबाट २५७ घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा योजना निर्माण भएको हो ।

घरघरमा मिटर जडान गरेर खानेपानी वितरण गरिएको तातोपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष थमबहादुर खत्रीले बताए । ‘विसं २०७२ देखि सुरु भएको आयोजना सात वर्षको प्रयासमा निर्माण सम्पन्न भएको छ’, उनले भने ‘वितरण व्यवस्थित र अनावश्यक पानी खर्च हुन नदिन सबै उपभोक्ताको धारामा मिटर जडान गरिएको छ ।’

घरघरमा खानेपानी आपूर्ति हुन थालेपछि तातोपानीवासीको दैनिकी फेरिएको छ । तल्लो, उपल्लो तातोपानी बजार, फापरखेत, मसार, पुलमुख, कान्ला, टिमिलाखर्क, पाटारुख र चौकी टोलमा मिटर जडान गरेर निजी धारामा पानी वितरण गरिएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलका अनुसार कार्यालयको एक करोड २२ लाख १४ हजार रुपैयाँ र उपभोक्ताको २४ लाख रुपैयाँ बराबरको श्रमदानमा आयोजना निर्माण सकिएको छ । ‘पाइप कार्यालयले खरिद गरेर उपलब्ध गराएको छ । ट्याङ्की, आरबिटी, इन्टेक, मुख्य लाइन निर्माणमा कार्यालयले खर्च गरेको छ,’ उनले भने ‘शाखा र वितरण लाइन खन्न र पुर्न उपभोक्ता समितिले श्रमदान गरेका हुन् । उपभोक्ताले आफू अनुकूलका धारा बनाएका छन् ।’

तातोपानी प्राकृतिक उपचारस्थलको रुपमा परिचित छ । यहाँको प्राकृतिक तातोपानी कुण्डमा स्नान गर्न वर्सेनी हजारौँ बिरामी आउने भएकाले खानेपानी आपूर्ति चुनौती बनेको थियो । योजनाबाट स्थानीयवासीका साथै तातोपानी स्नान गर्ने बिरामी र भ्रमणका लागि आउने पर्यटक तथा पाहुनासमेत लाभान्वित भएका छन् ।

स्थानीयवासी दधीलाल अधिकारीका अनुसार यसअघि १५ वटा सार्वजनिक धारामा पालो लगाएर पाइपमार्फत घर-घरमा खानेपानी आपूर्ति गरिएको थियो । ‘स्रोतको कमी र बढ्दो सहरीकरणसँगै खानेपानी आपूर्ति र वितरणमा समस्या भएको थियो,’ उनले भने ‘नयाँ आयोजना निर्माणसँगै पानीका कारण हुने सामाजिक द्वन्द्व हटेको छ ।’

धाराबाट पानी ओसार्दा हुने समयको बचत भएको छ । घरभित्र र आगनमै धारा हुँदा सुरक्षित र सहज भएको छ । खानीखोला, लेतेखोला, टिमिलाखर्क, भित्रिवनको चार वटा मुहानको पानी एक लाख, २० हजार र दश हजार लिटरको तीन वटा टङ्कीमा संकलन गरेर पाइपमार्फत घरघरमा वितरण गर्ने संरचना बनाइएको छ । तीन हजार ४५० मिटर मुख्य, ६ हजार ६११ मिटर शाखा र वितरण, ६ वटा इन्टेक, ३ वटा क्रसिङ लगायतका संरचना निर्माण भएको छ ।-रासस

प्रतिक्रिया