आइतबार, पुष ६, २०८२

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनार पक्राउ

नेपालखोज २०७९ साउन ८ गते २१:४२

काठमाडौं । केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी) ले २४ लाख रुपैयाँ जरिवाना तोकिएका बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार नुवाकोट, मेघाङ गाउपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजु बस्दै आएका ३६ बर्षिय चन्द्र बहादुर सुनारलाई शनिबार बालाजुबाट पक्राउ गरिएको हो ।

सुनारले प्राइम कमर्सीयल वैंक लिमिटेडमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा फैसला गर्दै निजलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा एक दिन कैद र २४ लाख रुपैंयाँ जरिवाना ठहर गरेको सीआईबीको भनाई छ ।

सो पश्चात फरार रहेका सुनारलाई सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले पक्राउ पश्चात आज आईतबार फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाएको जानकारी दिएको छ ।

प्रतिक्रिया