पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

काठमाडौं । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा सवा तीन खर्ब रुपैयाँ बढी नेपाली बाहिरिएको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्यांक अनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बढीको डिजेल मात्रै आयात गरेको हो ।
७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार रुपैयाँ बराबरको डिजेल, ६५ अर्ब ५५ करोड नौ लाख रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास र १५ अर्ब १५ करोड ४९ लाख रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको छ । एक वर्षको अवधिमा एक खर्ब १३ अर्ब रुपैयाँ बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, ५२ अर्ब रुपैयाँ बराबरको मोबाइल र ल्यापटप, ४८ अर्ब रुपैयाँको सुन–चाँदी र ७३ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको छ ।
नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । एक वर्षको अवधिमा ४८ अर्ब १२ करोड रुपैयाँ बराबरको प्रशोधित भटमासको तेल, ४१ अर्ब ६४ करोड रुपैयाँ बराबरको प्रशोधित पाम तेल, १० अर्ब १४ करोड रुपैयाँ बराबरको सेन्थेटिक यार्न, सात अर्ब ७१ करोड रुपैयाँ बराबरको उनीका सामग्री तथा पाँच अर्ब ७६ करोड रुपैयाँ बराबरका तयारी कपडाको निर्यात भएको छ ।-रासस








प्रतिक्रिया