आइतबार, पुष ६, २०८२

आन्तरिक तयारीमा जुट्याे निर्वाचन आयोग, मिति घोषणा हुन बाँकी

नेपालखोज २०७९ साउन ११ गते ७:०१

काठमाडाैं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको बताएका छन् । आयोगले आज गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मङ्सिर ४ गतेका लागि सरकारलाई मिति सिफारिस गरेको बताए ।

उनले भने, ‘हामी निर्वाचनको आन्तरिक तयारीमा लागि सकेका छौँ ।’ उनले सरकारले उपकरण उपलब्ध गराउने भए आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान गराउने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा खर्च नबुझाउनेलाई कारबाही गर्ने बताए ।

उनले एक लाख ५६ हजार उम्मेदवार रहेकामध्ये एक लाख उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गर्ने तयारी गरिएको बताए । आयोगले खर्च विवरण सङ्कलन गरिरहेको भन्दै नबुझाउने, तोकिएको समयमा नबुझाउने र समयमा बुझाए पनि खर्च सीमाभित्र नबुझाउनेलाई आयोगले पाँचवटा टोली गठन गरी छानबिन गरिरहेको उनको भनाइ रहेको छ ।

निर्वाचनको परिमाण भएको एक महिनाभित्र खर्च विवरण बुझाउनुपर्छ । उनले देशभरि नै अनलाइन मतदाता नामावली सङ्कलन गर्ने बताए । उनले आगामी निर्वाचनमा स्थानीय तहमा प्रयोग गरिएका निर्वाचन सामग्री प्रयोग गर्ने बताए । ‘विसं २०७० को मतपेटिका अहिले पनि हामीले प्रयोग गरेका हौ । अहिले पनि ७७ जिल्ला निर्वाचन कार्यालयमा आगामी निर्वाचनमा प्रयोग गर्ने के कस्ता सामग्री छन् त्यसको विवरण पठाउन भनेका छाैं’, उनले भने, ‘आगामाी निर्वाचनमा पनि थुप्रै निर्वाचन सामग्री प्रयोग गर्न सकिने छ ।’

आगामी निर्वाचनका लागि मतदाता शिक्षाका लागि विद्युतीय मिडियाको प्रयोग गरिने उनले बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनको तुलनामा आगामी निर्वाचन भने खर्चिलो हुने बताए । ‘स्थानीय तहको निर्वाचन एकथरिका दुई करोड मतपत्र छापेका थियाैं । अबको निर्वाचन चार थरिका आठ करोड मतपेटिका छाप्नुपर्ने हुन्छ’, उनले भने, ‘स्थानीय तहभन्दा आगामी निर्वाचनमा खर्च बढ्छ ।’

उनले आगामी निर्वाचनमा मतदान केन्द्रको पुनरावलोकन गरिने बताए । उनले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी मतदाता पनि आगामी निर्वाचनमा हुने बताए । कारागारका कैदी, कर्मचारी, निर्वाचनका काममा खटिएका कर्मचारी पनि मतदानमा सहभागी गराइने उनको भनाइ रहेको थियो । अन्तिम नामावाली प्रकाशित गरेपछि मात्र अस्थायी मतदाताको नामा पनि प्रकाशित गरिने उनले बताए ।

प्रतिक्रिया