मन्त्री चौधरीले भने- समाजवादी अर्थतन्त्र निर्माणमा सहयोग हुने विश्वास लिएको छु

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित भवन सत्य तथ्य एवं खोजमूलक समाचार सम्प्रेषणमा सहयोगी बन्न सक्ने विश्वास व्यक्त गरेका छन् । राससको नवनिर्मित भवन उद्घाटन समारोहलाई आज केन्द्रीय कार्यालय परिसरमा सम्बोधन गर्दै उनले गुणस्तरीय समाचार सेवा प्रदान गर्न पनि अत्याधुनिक भवनले मद्दत पुग्ने बताए ।
मन्त्री चौधरीले भने, ‘संविधानको संस्थागत विकास र सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न पनि राससजस्ता संस्थाका माध्यमबाट सहयोग पुग्छ, समाजवादी अर्थतन्त्र निर्माणमा पनि राससबाट सहयोग हुने विश्वास लिएको छु’ । विसं २०७२ वैशाख १२ एवं २९ गतेको ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १६ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
स्वदेश तथा विदेशका सत्यतथ्य, सन्तुलित र आधिकारिक समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले नेपाल संवाद समिति (नेसस) र सगरमाथा संवाद समिति (ससस) एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) को स्थापना भएको हो ।

प्रतिक्रिया