सुरु भयो ‘एक भक्त, एक वृक्षरोपण’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियानको सुरुवात गरेका छन् ।
पशुपति क्षेत्रमा आज (बिहीबार) आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गरेका हुन् । मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री श्रेष्ठले रोपेका बिरुवाहरूको उचित हेरचाह, संरक्षणर व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए । पाशुपत क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइनेछ ।
कार्यक्रममा खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलिलाले एक लाख रुद्राक्षको बिरुवा उपलब्ध गराउने घोषणा गरेका थिए । कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागी, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह तथा कोषका पदाधिकारीहरुले वृक्षरोपण गरेका थिए । वृक्षरोपण अभियान निरन्तर सञ्चालन हुने कोषले जनाएको छ । बिरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा कोषले लिनेछ । कोषले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षरोपण अभियानलाई समेटेको छ ।








प्रतिक्रिया