बिहीबार, चैत १५, २०८०

‘आइकाओले प्रतिबन्ध फुकुवा गरिसक्यो, ईयूले सुरक्षासम्बन्धी सूचीमा नेपाललाई राख्नै हुँदैन’

पर्यटनमन्त्री श्रेष्ठसँग पोल्यान्डका राजदूत बुराकोव्स्कीको शिष्टाचार भेट

नेपालखोज २०७९ साउन १३ गते १७:५९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्यान्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज (शुक्रबार) भएको भेटमा उनीहरूबीच नेपाल र पोल्यान्डबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो ।

मन्त्री श्रेष्ठले नेपाल र पोल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ६३ वर्षसम्म सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यसलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । पर्वतारोहणमा पोल्यान्डका जनताको रुचि रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजनाअनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी गराए । पोल्यान्डमा उच्च अध्ययन र रोजगारीको सिलसिलामा नेपाली जाने गरेको तथा नेपालमा रहेका पोल्यान्डका जनताको भिसा र आवागमन प्रक्रियामा सरलीकरण गर्नेबारे पनि छलफल भएको थियो ।

मन्त्री श्रेष्ठले नेपाली उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय उड्डयन संगठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा ईयूले सुरक्षासम्बन्धी सूचीमा राख्न नहुने धारणा राखे । आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा कम्पनीहरू सुरक्षित रहेको पुष्टि भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सीधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।

राजदूत बुराकोव्स्कीले सन् १९९२ मा कञ्चनजंगा हिमाल आरोहणका क्रममा हराएकी पोल्यान्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुबरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिएका थिए । रुटकिविज युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही हुन् भने केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन् । भेटवार्तामा उनीहरूबीच नेपालको पर्यटन प्रवर्द्धन उपायहरूबारे छलफल भएको थियो ।

भेटमा मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्यान्डका महावाणिज्यदूत लोकमान्य गोल्छाको सहभागिता थियो ।

प्रतिक्रिया