सोमबार, पुष ७, २०८२

‘सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक’

नेपालखोज २०७९ साउन १४ गते १७:१८

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक भएको बताएका छन् ।

एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ को सभापतित्वमा राजधानीमा भएको भेलामा उनीहरूले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखे । प्रमुख अतिथिको रुपमा भेलालाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन आएसँग सङ्कटमा रहेको निर्माण उद्योगलाई राहत मिलेको बताए । ‘निर्माण उद्योगप्रति रहेको नकारात्मक प्रभाव चिर्दै यस पेसालाई सम्मानित बनाउने दायित्व अब व्यवसायीको काँधमा आएको छ’ अध्यक्ष सिंहले भने ।

समृद्धिका सारथि निर्माण व्यवसायीहरूविना भौतिक पूर्वाधारको विकास विस्तारले गति लिन नसक्ने उनले बताए । महासंघका मानार्थ सदस्य समेत रहेका संघीय सांसद् जिप छिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा होइन ऐनमा नै संशोधन आवश्यक रहेको टिप्पणी गरे । निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी मात्र होइन कर्मचारीहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए ।

महासंघका निर्वतमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगको विकासबाट मात्र देशको समृद्धि सम्भव भएको धारणा राखे । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.) ले व्यवसायीहरूलाई आफ्नो क्षमता अनुसारको मात्र काम गर्न सुझाव दिए । महासंघका महासचिव रोशन दाहालले विदेशीले जिम्मा लिएका नेपालका निर्माण परियोजनाको हालत अत्यन्त खराब रहेको बताए । त्यस्ता विदेशी निर्माण व्यवसायीको तुलनामा नेपाली व्यवसायीहरूले नै राम्रो काम गरेको उनको दाबी थियो । महासंघका उपाध्यक्ष समेत रहेका एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ ले २५ लाख भन्दा बढीलाई रोजगारी दिएको निर्माण उद्योग चलायमान भए मात्र देशको अर्थतन्त्र मजबुत हुन सक्ने तर्क गरे ।

निर्माण व्यवसाय प्रवर्द्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष शिवप्रसाद नेपालले निर्माण व्यवसायीहरूले गरेको राम्रा कामको प्रचार हुन नसकेको बताए । मुलुकमै निर्माण सामाग्रीको उद्योग स्थापना गर्न व्यवसायीहरूलाई उनले सुझाए । कार्यक्रममा निर्माण व्यवसायीहरू पूर्णबहादुर तामाङ ‘कान्छाराम’, सुवित श्रेष्ठ, छत्र लामा, शिवहरि घिमिरेलगायतले निर्माण व्यवसायीहरूका समस्याबारे चर्चा गरेका थिए ।

यसैबीच महासंघको विधानबमोजिम एसोसिएट उपाध्यक्ष स्वतः एसोसिएट समन्वय समितिको संयोजक रहने प्रावधानअनुसार भेलाले समितिको सह-संयोजकसहितको कार्य समिति निर्विरोध चयन गरेको छ । जसअनुसार सह-संयोजकमा एनसी शेर्पा, भाइराजा श्रेष्ठ र रमेश अधिकारीलाई निर्विरोध चयन गरेको छ । सचिवद्धयमा नवराज श्रेष्ठ र मोहन कार्की निर्विरोध भएका छन् भने उपसचिव माधवप्रसाद आचार्य चयन भए ।

कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः लक्ष्मी कार्की र कृष्णहरि चौलागाई चयन भए । सदस्यमा निर्विरोध चयन हुनेमा कुमारध्वज कार्की, उमेशध्वज थापा, गोकर्ण राउत, अनिल सिलवाल, खड्गबहादुर बुढाथोकी, कुमारप्रसाद गौतम र सूर्य अधिकारी छन् । सल्लाहकारमा सोम प्रसाई, विनोद भट्टराई र केशव त्वानावसु चयन भएका छन् । भेलामा महासंघको कार्य समितिमा एशोसिएटको प्रतिनिधित्व गर्दै विजयी निर्माण व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया