जिम्बावेले बंगलादेशलाई १७ रनले हरायाे

काठमाडाैं । घरेलु टोली जिम्बावेले पहिलो टी-ट्वान्टी खेलमा बंगलादेशलाई १७ रनले हराएको छ । जितसँगै जिम्बावेले तीन खेलकाे सिरिजमा १-० को अग्रता बनाएको छ ।
हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय पाँच रन बनाएको थियो । उसका लागि सिकन्दर राजाले २६ बलमा ७ चौका र ४ छक्कासहित ६५ रनको पारी खेले ।
यस्तै वेस्ली मधेभरेले ६७ रन बनाए भने क्रेग इर्भिन २१ र सेन विलियम्स ३३ रनमा आउट भए । बलिङमा बंगलादेशका मुश्ताफिजुर रहमानले २ विकेट लिए ।
जवाफमा बंगलादेश २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ८८ रनमा रोकियो । उसका कप्तान नुरुल हसनले ४२ रन बनाए भने लिटोन दासले ३२ को योगदान गरे । यस्तै इनामउल हक २६ र अफिफ हुसैनले १० रनमा आउट भए ।
उसका लागि नाज्मुल हसन सान्टोले ३७ रनको योगदान गरे । जिम्बावेका ल्यूक जोंगवेले दुई तथा सिकन्दर राजाले एक विकेट लिए । यी दुई टिमबिचको दोस्रो खेल आइतबार हुनेछ ।
प्रतिक्रिया