बिहीबार, जेठ २, २०८२

पोप फ्रान्सिस भन्छन्- उमेर र अशक्तताका कारण सेवाबाट अवकाश लिने सोचेको छु

नेपालखोज २०७९ साउन १५ गते ७:१२

अबरोड द पापल प्लेन । पोप फ्रान्सिसले वृद्ध अवस्थाका कारण आफूले काम ढिलो गर्नुपर्ने वा अवकास लिने बारेमा सोचिरहेको बताएका छन् । क्यानाडाको छ दिने यात्रापछि संवाददाताहरूसँगको कुराकानीमा उनले अन्तरराष्ट्रिय यात्राको आफ्नो गति कायम राख्न नसक्ने देखिएकाले अवकाशको बारेमा सोच्नुपर्ने हुन सक्छ भनेका छन् ।

घुँडा दुख्ने समस्या रहेका ८५ वर्षीय पोपले भने, ‘म पहिलेको जस्तै गतिले जान सक्छु जस्तो मलाई लाग्दैन ।’ उनले भने, ‘मेरो विचारमा चर्चको सेवा गर्न मेरो उमेर र यो सीमितताले गर्दा मैले आफूलाई सक्रिया सेवाबाट अलग गर्नसक्ने सम्भावनाबारे सोच्नुपर्छ ।’

फ्रान्सिसले सन् २०१३ मा आफ्नो असफल स्वास्थ्यको कारण छाडेका र अहिले भ्याटिकन सिटीमा चुपचाप बसिरहेका आफ्ना पूर्ववर्ती बेनेडिक्ट सोह्रौंले बसालेको उदाहरण पछ्याउने सम्भावना उठाएको यो पहिलो पटक भने होइन । पोपको हैसियतमा रहेका समय सन् २०१४ मा स्वास्थ्य बिग्रिएमा पदबाट हट्ने विचार फ्रान्सिसले संवाददाताहरूसँग बताएका थिए ।

इटालेली सञ्चार माध्यमले रिपोर्ट गरेअनुसार मे महिनामा फ्रान्सिसले क्रिश्चियन धर्मगुरूहरूसँग प्रत्यक्ष भएको भेटमा आफ्नो घुँडाको विषयमा ठट्टा गर्दै ‘म शल्यक्रिया गर्नुको सट्टा राजीनामा दिनेछु’ भनेका थिए ।

उनले शनिबार भने, ‘ढोका खुल्ला छ, यो एउटा सामान्य विकल्प हो, तर अहिलेसम्म मैले यो ढोका ढकढक्याएको छैन । उनले आफ्नो क्यानडा यात्रालाई जोड्दै भने, ‘यो यात्रा पनि अलिक परीक्षा थियो । यो सत्य हो कि हामीले यो अवस्थामा यात्रा गर्न सकिँदैन सायद शैलीलाई अलिकति परिवर्तन गर्नुपर्छ, कम गर्नुपर्छ, अझै गर्नुपर्ने यात्राको ऋण चुक्ता गर्नुपर्छ, पुनः व्यवस्थित गर्नुपर्छ। तर प्रभुले भन्नु हुनेछ । ढोका खुल्ला छ, त्यो सत्य हो ।’

प्रतिक्रिया