सोमबार, जेठ ७, २०८१

कैलाली भन्सारद्वारा ९ अर्ब राजस्व संकलन

रासस २०७९ साउन १५ गते ११:४१

कैलाली । कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा नौ अर्ब ५८ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांकका अनुसार सो अवधिमा ११ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । संकलित राजस्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो ।

कार्यालयका अनुसार भन्सार महशुलतर्फ तीन अर्ब ५६ करोड ५५ लाख रुपैयाँ, मुल्य अभिवृद्धि करतर्फ तीन अर्ब ८६ करोड ४० लाख रुपैयाँ, अन्तः शुःल्कतर्फ २३ करोड ९९ लाख रुपैयाँ र अन्य शीर्षकतर्फ एक अर्ब ९१ लाख ३१ लाख रुपैयाँ राजस्व असुली भएको छ ।

सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ तीन अर्ब १० करोड १५ लाख रुपैयाँ, भन्सार महशुलतर्फ पाँच अर्ब २२ करोड ४० लाख रुपैयाँ, अन्तः शुःल्कतर्फ २८ करोड ७६ लाख रुपैयाँ र अन्य शीर्षकतर्फ तीन अर्ब २१ करोड ६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत माघमा सबैभन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गत वर्ष साउनमा ८९ दशमलब आठ प्रतिशत राजस्व असुली भएको जनाइएको छ ।

कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन, खयर कच्छ, पिना, भटमासको तेललगायत छन् । आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, मोटर पाट्र्सका साथै चामल, मकै, तोरी, तरकारीलगायत खाद्य सामग्री छन् । यो नाकाबाट निर्यात व्यापारभन्दा आयात बढी मात्रामा रहेको छ ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया