राहदानी बनाइदिन्छु भन्दै ठग्ने ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वररस्थित राहदानी विभागमा सेवाग्राहीलाई एकै दिनमा राहदानी बनाइदिन्छौँ भन्दै ठगीमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं ७, चाबहिल बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ५ घर भएका ३३ वर्षीय रामबहादुर बोगटी, चाबहिल बस्ने धनकुटा पाख्रिबास नगरपालिका १०, चुन्वाङ घर भएका २८ वर्षीय श्यामकुमार राई, चाबहिल बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका २ घर भएका २२ वर्षीय राम पौडेल र चाबहिलस्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल घर भएका ४१ वर्षीय विवेक गुरुङ रहेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
उनीहरूले राहदानी विभागमा सेवाग्राहीलाई फकाएर रकम संकलन गरी ठगी गर्नुका साथै कीर्ते गरी अनलाइन फाराम भरिदिने गरेका थिए । यहीँ ठगीको सूचना पाएर कालीमाटी वृत्तबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूबाट प्रहरीले विभिन्न व्यक्तिका नाममा भरिएको ३२ थान अनलाइन फाराम, ३ थान ल्यापटप, एकथान प्रिन्टर र ३ थान मोबाइल बरामद गरेको छ ।
उनीहरूमाथि ठगीसम्बधी कसुर र लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया