बिहीबार, जेठ २, २०८२

भारतको कूचविहारमा तीर्थयात्री चढेको भ्यानमा करेन्ट प्रवाह हुँदा १० जनाको मृत्यु, १६ घाइते

नेपालखोज २०७९ साउन १६ गते ११:१८

नयाँदिल्ली । भारतको पश्चिम बंगालको कूचविहारमा एउटा भ्यानभित्र करेन्ट लाग्दा भ्यानमा सवार १० तीर्थयात्रीको मृत्यु भएको छ ।

उत्तर बंगालको कूचविहार जिल्लाबाट जालपाइगुडीस्थित जल्पेश मन्दिरतर्फ जाँदै गरेका बोलबम तीर्थयात्रीहरु सवार भ्यानमा आइतबार राति करेन्ट प्रवाह भएको थियो । करेन्ट लागेर १० यात्रुको मृत्यु भएको छ भने १६ तीर्थयात्री घाइते भएको बीबीसी हिन्दीले समाचारमा जनाएको छ । घाइतेहरुको जलपाइगुडीमा रहेको सुपर स्पेसलिटी अस्पतालमा उपचार भइरहेको एएनआईले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार तीर्थयात्री सवार भ्यानमा डीजे (गीत-संगीत) बजाउनका लागि जेनेरेटर लगाइएको थियो । त्यहीँबाट करेन्ट प्रवाह भएको हुनसक्ने प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले अध्ययन गरिरहेको जनाइएको छ ।

कूचविहार जिल्लाको माथाभांगाका अतिरिक्त पुलिस अधीक्षक अमित बर्माले बीबीसीलाई भनेका छन्, ‘गाडीमा जेनेरेटरको माध्यमले डीजे बजाइएको थियो । प्रारम्भिक अनुमानअनुसार त्यसमै विद्युतीय करेन्ट प्रवाह हुँदा दुर्घटना भएको हो ।’ उनका अनुसार घाइते भएका १६ जनालाई जलपाइगुडीको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीका चालक भने फरार रहेकाले उनको खोजी जारी रहेको बर्माले बीबीसीलाई जनाएका छन् ।

उक्त गाडीमा सवार बोलबमका तीर्थालु सबै शीतलकुचीका बासिन्दा हुन् । बर्माका अनुसार मृतक तथा घाइतेका आफन्तलाई दुर्घटनाबारे जानकारी दिइसकिएको छ । गाडीमा २७ जना यात्रारत थिए ।

प्रतिक्रिया