बिहीबार, चैत १५, २०८०

लुम्बिनी केबलकार माघ १ देखि सञ्चालनमा आउने

नेपालखोज २०७९ साउन १७ गते ८:३९

काठमाडौं । बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ १ गतेदेखि सञ्चालनमा आउने भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाउँ गाउँपालिका वसन्तपुरडाँडासम्म पुग्न लुम्बिनी केबलकार निर्माण अन्तिम चरणमा पुगेको हो ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् । अध्यक्ष ढकालले केबलकारको निर्माण आगामी पुसभित्र पूरा हुने र माघ १ देखि सञ्चालनमा आउने बताए ।

‘केवलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब ४०० मिटर पहुँचको निर्माण पूरा भएको छ । तल्लो स्टेसनको सब-इस्ट्रक्चरको निर्माण करिब सम्पन्न भई सुपर स्ट्रक्चरको काम र साइट डेभलपमेन्टको काम भइरहेको छ । ९ टावरमध्ये ८ वटाको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी टावरको काम भइरहेको छ,’ उनले भने ।

करिब ३ किमिको केबलकार यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटेल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुने पनि अध्यक्ष ढकालले जनाए ।

प्रतिक्रिया