बैंकिङ कसुर मुद्दाका फरार थापा र तामाङ पक्राउ

काठमाडौं । काठमाड बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार बैंकिङ कसुर मुद्दामा दुई फरक व्यक्तिलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा काठमाडौंको पुरानो बानेश्वर बस्ने ३५ वर्षीया माया बस्नेत थापा र भक्तपुरको ठिमी नगरपालिका ३ गठ्ठाघर बस्ने ४२ वर्षीय गोर्खामान तामाङ छन् । पक्राउ परेकामध्ये तामाङलाई सोमबार भक्तपुरको गठ्ठाघरबाट र थापालाई सोमबार ललितपुरको बगलामुखीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
वादी नेपाल सरकार र प्रतिवादी थापा भएको बिगो ९० लाख रुपैयाँ भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा थापा उपर उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेकी थापालाई ललितपुरको बगलामुखीबाट पक्राउ गरी मंगलबार आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको उक्त कार्यालयको भनाइ छ ।
प्रतिवादी थापाले भरतमणि घर्ती मगरसमेतका व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको विषयमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पुर्जीसमेत जारी भएको अनुसन्धानबाट खुलेको छ ।
यसैगरी तामाङमाथि पनि उच्च अदालत पाटनले ६ लाख रुपैयाँ जरिवाना, तीन दिन कैद र २४ हजार रुपैयाँ क्षतिपूर्ति भराउने गरी फैसला भएको छ । फरार भएका तामाङलाई फैसला कार्यान्वनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया