शनिबार, जेठ ५, २०८१

‘धितोपत्र बजारको भविष्य बनाउन लगानीकर्ताको हितमा काम गर्नुपर्छ’

बोर्डका अध्यक्ष हमाल भन्छन्- धितोपत्र सम्बद्ध सबै निकायले लगानीकर्ताको विश्वास बढाउनेतर्फ जोड दिनुपर्छ

नेपालखोज २०७९ साउन १९ गते २१:००

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र बजारको भविष्य राम्रो बनाउन लगानीकर्ताहरूको हितमा काम गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयक अन्तर्क्रियामा अध्यक्ष हमालले लगानीकर्ताको विश्वास कायम रहे मात्र धितोपत्र बजारको विकास हुने बताए । लगानीकर्ता छन् र त धितोपत्र बजार छ उनले भने लगानीकर्ताको हित सोच्ने हो भन्दै मात्रै सुरक्षित ठाउँमा पुग्न सकिन्छ ।

धितोपत्र बजारमा समस्या र चुनौती धेरै रहेको उल्लेख गर्दै उनले चुनौतीभित्रै सम्भावना रहेको बताए । बोर्डमा अध्यक्षको जिम्मेवारी पाएको पाँच महिना पूरा भएको अवस्थामा बजारका सम्बन्धमा यसअघि भएका कमी–कमजोरीलाई औल्याउँदै समाधानको बाटो पहिल्याउन अग्रसर रहेको हमालको भनाइ छ । बजारमा सन्तुलन कायम गर्न वास्तविक क्षेत्रका कम्पनीहरूलाई भित्र्याउनुपर्ने अहिलेको आवश्यकतालाई औंल्याउँदै उनले बुक बिल्डिङ विधिलाई प्रभावकारी रूपमा अघि बढाउन सरोकारवाला सबैले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । बजारको अहिलेको आवश्यकतालाई ध्यानमा राखी क्यापिटल मार्केट इन्स्टिच्युट यही वर्ष स्थापना गर्ने लक्ष्यसमेत हमालले लिएका छन् । एसएमई प्लेटफर्म आगामी दुई महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य पनि हमालको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले धितोपत्र बजारमा सबैको भन्दा बजारको जोखिमलाई बुझेर लगानी गर्न सक्नेको लगानी हुनुपर्ने बताएका छन् । पछिल्लो समय बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक देखिन्छ । यो बजारका लागि राम्रो हो । तर, सबै क्षेत्र सबै मानिसका लागि उपयुक्त नहुन सक्छ । यसर्थ कम्पनी विश्लेषण गर्ने र बजारको जोखिम विश्लेषण गर्न सक्ने लगानीकर्ता मात्र बजारका लागि उपयुक्त हुने तर्क उनले गरे ।

मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालका अध्यक्ष मेखबहादुर थापाले धितोपत्र बजार विकासका लागि नयाँ नीतिहरू ल्याउनुको सट्टा पुरानै बजारका लागि आवश्यक नीति कार्यन्यनका लागि सम्बन्धित सबैले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत भएको थियो ।

नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यवहाक उप-कार्यकारी निर्देशक नारायणप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तर्फबाट प्रबन्धक नीरञ्जन फुँयाल र स्टक ब्रोकर एसोसिएसनका तर्फबाट अध्यक्ष सन्तोष मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरको पुँजी नभई नेटवर्थलाई हेरेर नीति बनाउनुपर्ने बताए । ब्रोकरको संरचनाका लागि चुक्तापुँजीभन्दा पनि नेटवर्थको धारणा हुनुपर्नेमा जोड दिए ।

उनले अहिले भइरहेको कारोबारमध्ये ७० प्रतिशत उधारो कारोबार हुने र सेटलमेन्टमा ५ रुपैयाँ ब्रोकरबाट उपलब्ध नहुँदा सेटलमेन्ट नभई ब्रोकर कारबाहीमा पर्ने उनले बताए । उधारो कारोबार गर्ने लगानीकर्ताको सेयर बेचेर सेटलमेन्ट गर्न नसकिने धारणासमेत उनले राखे ।

सबैको नजर ब्रोकर कमिसनमा हुने तर व्यवसाय गर्ने नेप्सेभन्दा बढी कमिसन नियामक धितोपत्र बोर्डको रहेकामा कसैको ध्यान नगएकोप्रति चिन्ता व्यक्त गरे । दक्षिण एसियामा नेपालको ब्रोकर कमिसन तुलनात्मक रूपमा कम रहेको समेत उनले बताए । त्यस्तै नेप्सेका प्रबन्धक नीरञ्जन फुँयालले धितोपत्र बजारमामा ८० प्रतिशत फाइनान्सियल सेक्टरको सहभागिता रहेको भन्दै वास्तविक क्षेत्रको प्रतिनिधित्व बढाउनुपर्ने बताए ।

सरकारी लगानीको संस्था हुँदा नेप्सेलाई पफर्मेन्स देखाउन गाह्रो छ । एउटा प्रविधि ढल्यो भने त्यसलाई खरिद गर्ने खरिद नियमावलीअनुसार ९ महिना लाग्ने उनले बताए । बजारको आवश्यकताअनुसार अर्को स्टक एक्सचेन्ज भित्र्नुपर्नेमा समेत उनले जोड दिए ।

नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै उप-कार्यकारी निर्देशक नारायणप्रसाद शर्माले बजारमा सबै विज्ञ हुनुभन्दा पनि बजारप्रतिको जोखिम र प्रतिफलसम्बन्धी धारणा बनाउनुपर्ने बताए । नियामक निकाय बोर्डलाई जवाफदेहीसहितको स्वायत्तता हुनुपर्ने धारणा पनि उनले राखे । बजार विकासका लागि नेप्सेको कारोबार प्रणाली थप प्रविधियुक्त हुनुपर्ने र क्षमता बढाउनुपर्नेमा समेत उनले जोड दिए ।

प्रतिक्रिया