बुधबार, वैशाख २६, २०८१

सुदूरपश्चिम : सत्ता कांग्रेसकाे पाेल्टामा

नेपालखोज २०७९ माघ २६ गते १८:२६

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि कांग्रेस कमब्याक भएको छ । पुस २७ गते एमालेसहित ३ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिम सरकार कांग्रेसको पाेल्टामा परेको हो ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि मुख्यमन्त्री रावल १ महिनामै बिदा भएका हुन् । संविधानको धारा १६८ (२) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

सुदुरपश्चिममा १९ सीट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो । अब कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । उनले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेको व्यक्तिले पनि विश्वासको मत नपाए १६८ (५) अनुसार संसदको कुनै पनि सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भए मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्नेछन् ।

प्रतिक्रिया