शुक्रबार, वैशाख ७, २०८१

निजामती सेवामा तलबमानमा विभेद, सुब्बाको भन्दा ड्राइभरको तलब धेरै !

माधव ढकाल २०७९ साउन २२ गते १४:२०

तलबमानका (तलब स्केल) बारेमा धेरै बहस भएको कारण यति लेख्नैपर्ने भयो । हालको तलबस्केल हेर्दा निजामती सेवाभित्रैका पदमा पनि र अन्य सरकारी सेवा र सार्वजनिक संस्थानको तह एवं नेपाल सरकारको मर्यादाक्रम अनुसार तलब स्केल मिलेको छैन ।

खरिदारको तलबस्केल कम्तीमा पाँचौंस्तरको सवारी चालकको भन्दा बढी हुनुपर्थ्यो । पहिले बाबुराम भट्टराई अर्थमन्त्री हुँदा कार्यालय सहयोगी पाँचौंको भन्दा खरिदारको तलबस्केल कम भएकै कारण खरिदारको तलब स्केल कार्यालय सहयोगी पाँचौंको भन्दा १० रुपैयाँ भए पनि बढी कायम गरिएको थियो । तर पाँचौंस्तरको सवारी चालकको भन्दा खरिदार त के नासुको तलब कम छ । यसलाई मिलाउनैपर्ने देखिन्छ ।

त्यस्तै मर्यादाक्रमअनुसार प्रहरीको एसपीभन्दा उपसचिव माथि हुन्छ । प्रहरीको डीआईजी भन्दा सह-सचिवमाथि हुन्छ तर तलबस्केल एसपीको भन्दा उपसचिवको थोरै छ । डीआईजीको भन्दा सह-सचिवको थोरै छ । त्यति मात्र होइन तहगत प्रणाली रहेको स्वास्थ्य, प्रदेश, स्थानीय तह र सार्वजनिक संस्थानका आठौं तह भनेको शाखा अधिकृत सरह, दशौं तह भनेको उप-सचिव सरह र एघारौं तह सहसचिव सरह हुन्छ तर आठौंको भन्दा शाखा अधिकृतको कम छ । दशौं तहको भन्दा उप-सचिवको कम छ । एघारौंभन्दा सह-सचिवको तलबस्केल कम छ । कर्मचारीबीचमा मर्यादाक्रमअनुसारको तलबस्केल मिलेको छैन ।

यसलाई मिलाउनैपर्ने देखिन्छ । तलबस्केलकै कारण कर्मचारीबीच म ठूलो भन्ने, ड्राइभरले नासुलाई मभन्दा तल्लो हो जस्तो गर्ने विकृति देखिएको छ । छैटौंले शाखा अधिकृत हुँ भन्ने सातौंले, आठौंले शाखा अधिकृतलाई तल्लो तहको जस्तो मान्ने गर्दा कार्यसम्पादनमा समेत नकारात्मक असर पुर्याएको छ ।

चेन अफ कमान्डमा समस्या भएको छ । तसर्थ पनि कर्मचारीबीचमा मर्यादाक्रमअनुसारको तलबस्केल कायम गर्नैपर्ने देखिन्छ । तलबस्केल खरिदारदेखि नै मिलाउनुपर्ने देखिन्छ ।

-ढकाल नेपाल सरकारका उपसचिव हुनुहुन्छ ।

प्रतिक्रिया