मंगलबार, पुष ८, २०८२

काठमाडौंमा ‘नो हर्न अभियान’ पुनः सुरु, अत्यावश्यक अवस्थाबाहेक हर्न बजाउन नपाइने

नेपालखोज २०७९ साउन २२ गते १५:०६

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रूपमा अगाडि बढाइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आइतबार एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्रले नो हर्न लेखिएको पहेंलो स्टिकर एक–अर्काको सवारीसाधनमा टाँसेर कार्यक्रमको उद्घाटन गरेका थिए । नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्तामा सचेतना फैलाउन आइतबारबाट पद्मकन्या बहुमुखी क्याम्पसका एक सय विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।

हर्नले ध्वनि प्रदुषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिन अभियानकै रूपमा सुरु गरिएको काठमाडौँ महानगर प्रमुख शाहले बताए । काठमाडौं उपत्यकामा ध्वनि प्रदुषण नियन्त्रणका लागि २०७४ वैशाख १ गतेबाट नो हर्न लागु गरिएको थियो । जसअनुसार अत्यावश्यक पर्दाबाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ ।

कार्यक्रम रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रांगणबाट सुरुवात भएको थियो । साथै काठमाडौँ महानगरपालिकाका मेयर शाह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक चौधरी तथा स्वयंसेवक र पद्मकन्या क्याम्पसका प्राध्यापक र विद्यार्थीहरूले सिंहदरबार चोकमा गई सार्वजनिक तथा निजी सवारी साधनमा नो हर्न लेखिएको स्टिकर टाँसेका थिए ।

कार्यक्रम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस र धापसीस्थित कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलले संयुक्त रूपमा आयोजना गरेको हो । कार्यक्रममा करिब दुई सयजनाको सहभागिता थियो ।

प्रतिक्रिया