राष्ट्रियसभा बैठक : पेट्रोलियम पदार्थको मूल्य समायोजनदेखि काठमाडौंको फोहोर व्यवस्थापनसम्मको माग

नेपालखोज २०७९ साउन २३ गते १७:५९
फाइल तस्बिर ।

काठमाडौं । सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतबाट पनि पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको तर नेपालमा मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानार्षण गराएका हुन् ।

बैठकमा सांसद दिलकुमारी रावल थापाले वर्तमान सरकारले जनताका समस्याप्रति कम चासो दिएको आरोप लगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् । अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा र घट्दा सोहीअनुसार समायोजन हुनुपर्नेमा हाल दुई/दुईपटक मूल्य घटेको तर नेपाल आयल निगमले किन मूल्य नघटाएको भनी प्रश्न गरिन् ।

सांसद दीपा गुरुङले राज्यले युवालाई सही दिशा दिननसके युवावर्ग विकृतिको शिकार हुनसक्ने बताउँदै खेलकुद मन्त्रालयको बजेट कम भएको टिप्पणी गरिन् । खेलकुद विकास र समृद्धिको परिचायक भएको बताउँदै उनले सरकारले खेलाडीलाई सम्मान गर्ने गरी हौसला बढाउने कार्य गर्नुपर्नेमा जोड दिइन् ।

सांसद खिमलाल देवकोटाले सुशासनका लागि पारदर्शिता आवश्यक रहेकामा जोड दिँदै सबै मन्त्रीका काम जनताले हेर्न पाउने गरी सीसीटीभीको व्यवस्था गर्नुपर्ने बताए । साथै उनले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कानुनअनुसार कारबाही गर्नुपर्ने धारणा पनि राखे । सांसद गंगाकुमारी बेलवासेले संवैधानिक परिषद्‌मा पूर्ववर्ती सरकारले अध्यादेशमार्फत आफूखुसी नियुक्ति गरेको स्मरण गर्दै यसमा आगामी दिनमा संशोधन गरी राष्ट्रियसभाका उपाध्यक्षसमेत रहने व्यवस्था गर्नुपर्ने बताइन् ।

सांसद गोमादेवी तिमिल्सिनाले देशको राजधानीमै फोहरको समस्या बढेको, ढल फुटेर दुर्गन्ध बढेको, बाटोका खाल्डामा पानी भरिएर हिँड्न गाह्रो भएको बताउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् । केही राजनीतिक दलका क्रियाकलापका कारण राजनीतिक दलको विकल्पको आवाज उठ्न थालेकामा चिन्ता व्यक्त गर्दै हालका उपलब्धि यिनै दलका कारण आएको हो भन्ने कुरा पनि विर्सन नहुने बताइन् । सांसद भुवनबहादुर सुनारले नागरिकता दिने क्रममा विभिन्न स्थानमा केही व्यक्तिका नाम अपमान हुने गरी उल्लेख भएको सन्दर्भमा ध्यानाकर्षण गराउँदै यस्ता लापरबाही गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरे ।

सांसद सुमित्रा बीसीले महँगी बढेर जनतालाई थप दुःख भएको उल्लेख गर्दै सरकारले अनुगमनमा कडाई गरी नियन्त्रण गर्नुपर्ने बताइन् । साथै उनले मुगु जाने सहुलियतको नुन बाटोमा हराएको सम्बन्धमा सरकरसँग स्पष्ट जानकारी माग गरिन् । सांसद विना पोखरेलले संविधानमा समाजवादउन्मुख भनेका छौँ तर कसरी जाने भनेर केही नदेखेको बताउँदै देशमा ज्येष्ठ नागरिकको अवस्था दयनीय भएकाले सरकारको ध्यान जाओस् भनिन् । उनले ज्येष्ठ नागरिकलाई जीवन धान्न केही सामाजिक सुरक्षा भत्ता दिएर मात्र खुसी नभएको भन्दै उनीहरुको जीवन खुसी तथा सन्तुष्टि र सम्मानका लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताइन् ।

सांसद नरबहादुर विष्टले अहिले लघुवित्त कम्पनीले गाउँमा चर्को ब्याज लिने गरेको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि आवश्यक पहल गर्न माग गरे । पूर्ववर्ती सरकारका पालामा बढेको दण्डहीनताका कारण अहिले पनि त्यस्ता घट्ना देखिने गरेको टिप्पणी गर्दै यसलाई नियन्त्रण गर्न तथा नदोहोर्‍याउन सरकारले आवश्यक पहल गर्नुपर्ने उनले बताए ।

सांसद तुलसाकुमारी दाहालले सामान्य महिलाको तुलनामा अपांगता भएका महिला बढी हिंसामा पर्ने गरेको बताउँदै कानुनले व्यवस्था गरेका शिक्षा, सामाजिक न्याय, सुरक्षा, राज्यका निकायमा सहभागिता, सेवामा पँहुचलगायत विषयमा गरेका व्यवस्था भएका कानुन कार्यान्वयन गरी अपांगता भएका व्यक्तिलाई सेवामा प्राथमिकता दिनुपर्ने बताइन् । सांसद रमेशजंग रायमाझीले सरकारले आगामी मंसिर ४ गते आमनिर्वाचन घोषणा गरेकामा स्वागत गरे । उनले वर्तमान सरकारले संसद्लाई जीवित राखेर आमनिर्वाचनमा जान गरेको निर्णय उत्तम भएको र यो प्रसंशायोग्य भएको बताए ।

प्रतिक्रिया