रवीन्द्र मिश्रको प्रस्ताव- मेरै नेतृत्वमा दल दर्ता गरौं

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफ्नै नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् ।
उनले पार्टीका केन्द्रीय सदस्यहरूलाई इमेलमार्फत मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुनका लागि दल दर्ता गर्न आयोग जानुपर्ने बताएका हुन् । निर्वाचन आयोगले साउन ३१ भित्र दल दर्ता गर्न समय दिएको छ । मिश्रले राजीनामा दिएको अढाइ महिना हुँदा पनि यसबारे केन्द्रीय समितिमा छलफलसमेत भएको छैन ।
‘दल दर्ता नगर्नु देशका विभिन्न ठाउँमा तराजु चुनाव चिह्नमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिबद्ध भएर बस्ने सबैका लागि अन्याय हुनेछ,’ मिश्रले पठाएको पत्रमा उल्लेख छ । उनले आफू सक्रिय नभए दल दर्ता नहुने स्थिति देखिएको बताएका छन् ।
केन्द्रीय सदस्यहरूलाई मिश्रले पठाएको पत्र :
आदरणीय साथीहरू,
मैले पार्टी अध्यक्षबाट राजीनामा दिएको झन्डै अढाइ महिना भइसकेको छ । केन्द्रीय समितिले नयाँ नेतृत्व चयन गर्न नसक्दा मेरो राजीनामा स्वीकृत भएको छैन । यस्तो परिस्थितिमा संघीय निर्वाचन घोषणासँगै निर्वाचन आयोगले साउन ३१ गतेसम्ममा ‘निर्वाचन प्रयोजन’का लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
दल दर्ता नगर्नु देशका विभिन्न ठाऊँमा तराजु चुनाव चिह्नमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिबद्ध भएर बस्ने सबैका लागि अन्याय हुनेछ । दल दर्ता गर्न निर्वाचन आयोगले तोकेका निश्चित सर्तहरू पूरा गर्नुपर्छ । पार्टीमा अढाइ महिनादेखि बहुमतबाट नेतृत्व चयन हुन नसकेको स्थितिमा अर्को एक हप्ताभित्र त्यो हुन सक्ने कुनै सम्भावना देखिँदैन ।
नयाँ नेतृत्व निर्वाचन आयोगले अध्यावधिक गरेपछि मात्र उसको/उनको हस्ताक्षरले मान्यता प्राप्त गर्ने हो । यी सबै कामका लागि पर्खिन सक्ने स्थिति छैन । कानुनत: म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन । तसर्थ, म साथीहरूलाई निम्नानुसार विनम्र आग्रह गर्दछु । यसलाई गम्भीरतापूर्वक लिइदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।
१. अहिले हतारमा, छोटो सूचनामा, पार्टीको केन्द्रीय समितिको कोरम पुग्ने गरेर बैठक बस्न सक्ने स्थिति छैन । बाहिर जिल्लामा रहेका कतिपय साथीहरू तुरून्तै आउन सक्ने स्थिति पनि नहुन सक्छ । हामीले विगतमा पनि आपतकालीन स्थितिमा गरेको अभ्यास के हो भने, पार्टी केन्द्रीय कार्यालयमा मिनेट बुक राखिन्छ र काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूले समय मिलाएर पार्टी कार्यालय आई मिनेट बुकमा हस्ताक्षर गर्ने गर्दछन् । बाहिर जिल्लामा भएका साथीहरूको तोकिएको प्रयोजनका लागि मात्र भनेर डिजिटल हस्ताक्षर मागिनेछ ।
२. यो कतिपय साथीहरूका लागि अनुकूल विकल्प नहुने सक्छ तर अढाई महिनामा ननिस्केको सहमति अहिले निस्कने र अर्को विकल्पका साथ अघि बढ्ने सक्ने कुनै सम्भावना देखिँदैन । नयाँ नेतृत्व (अध्यक्ष) का लागि पार्टी दर्ता भएपछि पनि प्रयास गर्दै रहनुहोला तर हाललाई भने सकभर बुधबार नै पार्टीको केन्द्रीय कार्यलयमा दिउँसो १२ बजे पछि गएर त्यहाँ राखिएको मिनेट बुकमा हस्ताक्षर गरिदिन आग्रह गर्दछु ।
राजीनामा दिएका तर मेरोजस्तै राजीनामा स्वीकृत नभएका साथीहरूलाई पनि यो गम्भीर विषयमा सहयोग गरिदिन अनुरोध गर्दछु । यो विषयमा तर्क गरेर बस्नु भनेको निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता नहुनु हो । सहयोग नगर्ने साथीहरूले पार्टी सदस्यहरूको प्रश्नको जवाफ दिनुपर्नेछ । पार्टीभित्र जतिसुकै विवाद भए पनि यो विषयमा यहाँहरूको तत्काल सहयोगको अपेक्षा गर्दछु ।
-रवीन्द्र मिश्र








प्रतिक्रिया