सहरी विकास मन्त्रीको आक्रोश- ठेकेदारले योजनालाई दुहुनो गाई बनाए

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले राज्यलाई ट्रयापमा पार्ने गिरोहहरूलाई नछोड्ने बताएका छन् । उनले अन्तर्वार्ताका क्रममा सत्ता वरिपरि घुम्ने व्यक्ति र ठेकेदारहरु प्रति कडा आलोचना गरेका हुन् ।
आफूलाई फेरि मन्त्री बनाइदिन्छु भन्दै केही व्यक्ति आएको उनले खुलाएका छन् । उनले भने, ‘आफू मन्त्री भइसकेपछि तपाईंलाई मन्त्री मैले बनाएको हुँ । फेरि पनि मन्त्री बनाउँछु भन्नसम्म केही मान्छे आएका थिए । भनेपछि बुझ्नुस् देश कसरी चलाउन खोजिएको छ । कस्ता मान्छेहरु राज्य सत्ताको वरिपरि घुमिरहेका छन् ।’ यस अघि ठेकेदारलाई नाफा कमाउन दिने उदेश्य राखेर सहरको नक्सांकन गर्दा अधिकांश सहर बिग्रिएको उनको भनाइ छ ।
ठेकदारहरुको काम प्रति मन्त्री चौधरीले आपति जनाएका छन् । उनले भने, ‘यसअघि उपभोक्ता अर्थात् जनतामार्फत हुने एक करोड मुनिका योजनाहरु रोकिएको थियो । त्यसमा अदालतको समेत स्टे अर्डर आइसकेको छ । मैले तत्काल खोल्न निर्देशन दिइसकेको छु । ठेकेदारमार्फत् जम्मै काम गराउने कुरा उचित छैन । ठेक्का लिने, समय गुजार्ने, खर्च बढाउने, ठेक्का लिएर भाग्नेदेखि लिएर योजना जम्मै बर्बाद पार्नेसम्म काम भइरहेको छ ।’ ठेकेदारले योजनालाई दुहुनो गाई बनाएको उनको आरोप छ ।
आफ्नो कार्यकाल छोटो भएपनि फोहोर व्यवस्थापन र सवारी जामको स्थायी समाधान गर्ने उनको दाबी छ । गैर कानुनी ढंगले बनाइएका भवन हटाउनेदेखि लिएर भूकम्पीय दृष्टिले जोखिमयुक्त अपार्टमेन्टबारे समेत अध्ययन भइरहेको उनले बताए ।








प्रतिक्रिया