शनिबार, वैशाख १५, २०८१

‘एमाले अर्थ विभागका एम. अधिकारी गभर्नर महाप्रसाद अधिकारी हुँदै होइनन्’

एक्लाएक्लै लडे एमालेले दुईतिहाइ सिट जित्छ, नजिते म राजनीतिबाट संन्यास लिन्छु : खगराज अधिकारी

नेपालखोज २०७९ साउन २६ गते १६:१९

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरू एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुईतिहाइ बहुमत नल्याए राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् ।

आज (बिहीबार) राजधानीमा आयोजित साक्षात्कारमा उनले यस्तो घोषणा गरेका हुन् । उनले भने,‘एक्लाएक्लै लडे कांग्रेसले एक सिट पनि जित्दैन । अब कांग्रेस एक्लै लड्न नसक्ने भयो । कांग्रेस एक्लै लड्न आओस्, हामी दुईतिहाइ भन्दा बढी सिटमा जित्छौं । यदि हामीले दुईतिहाइ भन्दा बढी सिट जितेनौं भने म राजनीति छोडिदिन्छु ।’

उनले अहिलेको पाँचदलीय गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा दिए । उनले भने, ‘एमाले मार्क्सवाद-लेनिनवादमा विश्वास गर्छ । अहिलेको गठबन्धन वित्तीय गठबन्धन हो ।’ अधिकारीले कांग्रेसले एसपीपी अर्को ढंगले अघि बढाउन खोजेको गम्भीर आरोप लगाए । उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम. अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारे ।

उनले अहिलेको सरकारको कारण देश जटिल अवस्थामा पुगेको सुनाए । उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्यको कुरा गर्दा, घटाउनुपर्ने बेलामा १५, १५ दिनमा मूल्य समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन । यसले प्रत्यक्ष रुपमा जनता महँगीको मारमा परेका छन् । एक्सपोर्ट-इम्पोर्टमा आधारित हाम्रो अर्थतन्त्रलाई हामीले उत्पादनको वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापित गर्न खाजेका थियौं । संघीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ ।’

उनले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चुनौति खडा भएको सुनाए । उनले भने, ‘एकाबिहानै हाम्रो राष्ट्रको अस्तित्वमाथि चुनौती आउने त होइन भनेर अहिले चिन्ता बढेको छ, ताइवाननजिकै त्यस्ता घट्ना जो भइरहेका छन्, त्यसले अन्तर्राष्ट्रिय शक्तिको खेलमैदान नेपाल नहोस् भनेर हामी सचेत भएर जानुपर्छ । कहीँ हामी असंलग्न परराष्ट्र नीतिबाट विचलित त छैनौं ? भन्ने पनि प्रश्न उठेको छ ।’ उनले अब सबै विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिए ।

उनले सार्कलाई रिभाइभ गर्न नसकेको स्मरण गराए । उनले भने, ‘हामीले सार्कलाई एक्टिभ गर्न सकेका छैनौं । यत्रो समयसम्म सार्कलाई एक्टिभ गर्न सकिएन ।’ उनले निर्वाचनअघि नै गठबन्धनवालाहरूले चुनावमा पनि गठबन्धन गर्न खोजेकोमा प्रश्न उठाए । उनले थपे, ‘अहिले नीतिहीन, सिद्धान्तहीन र गन्तव्यहीन गठबन्धनका साथ जो निर्वाचनमा गइँदै छ । निर्वाचन पहिले नै गठबन्धनको परिकल्पना गरिँदै छ । समाजवादतर्फ कसरी यात्रा तय गर्छौं ? यो वित्तीय गठबन्धन हो । राजस्वको दर फेरबदल गर्न अनधिकृत व्यक्ति गएकै हो । हामीले ठोकुवाका साथ यो कुरा भनेका छौं । जसको प्रत्यक्ष प्रभाव फलाम उद्योगमा देखिएको छ । स्यानिटरी प्याडको उद्योगमा पनि देखिएको छ । टायर उद्योगमा देखिएको छ । चाउचाउ उद्योगमा देखिएको छ । हामीले कल डिटेल हेरौं भनेका थियौं ।’

उनले आफूहरूले सरकार छोड्दा अर्थतन्त्र राम्रो अवस्थामा रहेको दाबी गरे । उनले भने, ‘अहिले त कोरोनाको भ्याक्सिन हराए । शालिनतापूर्वक सत्तापक्षलाई सचेत गराएका हौं । राष्ट्रिय सार्वभौमिकतालाई सवल बनाउने कुरा मुख्य हो । विकासलाई तीव्र गति दिने र रोजगार दिने कुरा हो । हामी मूलतः आफ्नो खुट्टामा उभिएर जान्छौं । गठबन्धन बन्दैन । तर, हामी चुनावमा सहकार्य र तालमेलको रुपमा अघि बढ्छौं ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले समयभित्रै नागरिकता विद्येयकबारे आफ्नो निर्णय लिने विश्वास व्यक्त गरे । प्रचण्डले तत्काल राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्छ भनेको विषयमा उनले प्रश्न गर्दै भने, ‘प्रचण्ड को हो ? प्रधानमन्त्री हो र ? प्रचण्डको आदेश तामेल गनुपर्ने राष्ट्रपति उहाँको कार्यकर्ता होइन होला नि । प्रचण्ड त मजस्तै सांसद हो । सत्तापक्षको घटकको नेता न हो । सांसद न हो । उहाँ र म मा के फरक छ ? राष्ट्रपतिले समयभित्र आफ्नो निर्णय लिनुहुन्छ ।’ उनले कतिपय विधेयक पुनर्विचार भएका पनि स्मरण गराए । तर, आफूले वैवाहिक अंगीकृतहरूले ७ वर्ष पछिमात्रै नागरिकता पाउनुपर्छ भन्ने अडान राखेको र यसलाई निरन्तर राखिरहने सुनाए ।

प्रतिक्रिया