आठ दिनमा २८६ युनिट रगत सङ्कलन
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च चितवनले २८६ युनिट रगत सङ्कलन गरेको छ । जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि टोलटोलमा मोबाइल क्याम्प खडा गरी भदौ ८ गतेदेखि आठ दिनसम्म १७ ठाउँमा रक्तदान कार्यक्रम गरिएको हो ।
धर्मचोकबाट शुरु भएको अभियानअन्तर्गत गैंडाकोट, गीतानगर, नारायणगढ, सौराहा, शुक्रनगर, जिल्ला प्रहरी कार्यालय चितवन परिसर लगायतका क्षेत्रमा शिविर गरिएको हो । मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार गीतानगरको केशरबाग र जिल्ला प्रहरी कार्यालयमा धेरै युनिट रगत सङ्कलन भएको थियो ।
बुधबारलाई यो अभियान रोकेर बिहिबारदेखि निरन्तरता दिइने मञ्चका द्वितीय उपाध्यक्ष सूर्यभक्त अधिकारीले बताए । उनले रक्तसञ्चार केन्द्र भरतपुरका दुई कर्मचारीलाई सङ्क्रमण भएपछि एक दिनलाई कार्यक्रम रोकिएको जानकारी दिए ।
रगतको अभाव भइरहेका बेला थोरै मानिस जम्मा गरेर उच्च सावधानीका साथ गरिएकाले टोलटोलबाट रक्तदानका लागि टेलिफोन आउने गरेको रानाभाटले जानकारी दिए । मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको सङ्क्रमण ऐनभित्र रही सम्पूर्ण कार्य गरिएको बताएका छन् । मञ्चले चितवन र छिमेकी जिल्लाका आआफ्नो टोलमा संयोजन गरी मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ ।
रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रगतको अभाव भइरहेको बेला यो अभियान निकै उपयोगी भएको बताए । उनले भने “सङ्कटका बेलामा मञ्च सबैका लागि सहयोगी बन्यो ।” यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुँदै आएपनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि रगत पाउने अवस्था नभएको उनले बताए । जिल्लामा तेस्रो साता निषेधाज्ञा जारी छ । पौडेलका अनुसार जिल्लाका अस्पतालमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।
यसअघि केन्द्रले चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो भने अहिले ती जिल्लामा रक्तदान कार्यक्रम नभएकाले रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ । कोरोना त्रासका कारण विगतमा रक्तदान गर्नेसमेत अहिले डराएका छन् । रासस
प्रतिक्रिया