बिहीबार, वैशाख ६, २०८१

‘आगामी चुनावमा एमाले १ सिट पनि जित्दैन, २० वर्षसम्म शासनमा फर्कने आँट नगरे हुन्छ’

‘जनता अहिले गठबन्धनसँगै छन् । एमालेसँग जनताको वितृष्णा छ। एक वर्षमा हामीले जनतामा आशा जगाएका छौं ।’

नेपालखोज २०७९ साउन २६ गते १७:४०

काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने ठोकुवा गरेका छन् । आगामी निर्वाचनमा एमालेले एक सिट पनि नजित्ने उनको दाबी छ ।

राजधानीमा आज (बिहीबार) आयोजित साक्षात्कारमा उनले भने,‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईंहरूलाई शासनमा ल्याउँदैनन् । अब तपाईंहरू कहाँ चुनाव जित्नुहुन्छ ? सर्भे गर्नुहोस् । स्थानीय तहमा २०० सय सिट त आयो । यदि हाम्रो वडासम्म गठबन्धन गएको भए १० सिट पनि आउँदैन थियो । अबको संसद्को निर्वाचनमा एक सिटचाहिँ आउने सम्भावना छ । केपी ओली जित्ने सम्भावना छ । त्यो पनि राप्रपासँग गठबन्धन गर्नुभयो भने । नभए कुनै हालतमा आउँदैन । मैले दोहोर्याएर भनेको छु कि केपी ओली बल्लबल्ल जित्ने सम्भावना छ । निर्वाचन आयोगको अपडेट लिनुहोस् । यसपटक एमाले शून्यतिर जानसक्छ । हरेक मोर्चामा एमाले असफल भएको छ ।’

उनले एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको आरोप लगाए । उनले भने, ‘एमालेका साथीहरूलाई म भन्छु- अब राष्ट्रवादको नाममा नेपाली जनता ठग्ने कोसिस नगर्नुहोस् । किताब त छाप्नुभयो । किन पुर्याउनुभएन ? स्कुलमा किताब देखिनँ । तुइन हटाउँछु भन्नुभएको थियो, हट्यो त ? तपाईंहरूले परराष्ट्र नीति सन्तुलित पनि बनाउन सक्नुभएन । यो सरकारले छोटो अवधिबाट देशलाई श्रीलंका हुनबाट बचाइदियो ।’

उनले नागरिकता विधेयक पास दुवै सदनबाट भइसकेको र प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणीकरण गर्न आग्रह गरे । उनले भने,‘राष्ट्रपतिले अहिलेसम्म विधेयक प्रमाणीकरण नगरेर रोक्नुभएको छ, यो संविधानतः रोक्न मिल्दैन । राष्ट्रपतिलाई मौका छ, उहाँ अहिले पनि पार्टीको राजनीतिभन्दा माथि उठ्न सक्नुभएको छैन । हामी आशा गर्छौ कि भगवान् पशुपतिनाथले बुद्धि दिओस्, कि उहाँ सबैको राष्ट्रपति भएर सफल हुनुहोस् । अविलम्ब विधेयक प्रमाणीकरण गर्नुहोस् ।’

नेता यादवले अहिलेको पाँचदलीय गठबन्धन नेपाली जनताले आवश्यकता महसुस गरेर बनेको सुनाए । उनले भने, ‘यो गठबन्धन नेपाली जनताले आवश्यकता बोध गरेर बनेको हो । गठबन्धन आज पनि कायमै छ, भोलि पनि कायम रहन्छ । भोलि पनि यही गठबन्धनको सरकार बन्छ । यसमा जनता ढुक्क हुनुहोस् ।’

उनले यसअघि जनतामाथि धोका र विश्वासघात गरेको कारण अब केपी ओलीलई अब प्रधानमन्त्री बन्ने नैतिक आधार नै नभएको दाबी गरे । उनले भने, ‘अब एमालेबाट प्रधानमन्त्री बन्ने नैतिक आधार छैन, र हुँदै हुँदैन । उहाँहरूले सरकार चलाउने भनेर ०७४ को निर्वाचनमा पनि पाँच वर्षका लागि जनताबाट म्यान्डेट लिनुभएको थियो, तर, केपी ओलीले तीन वर्ष पनि चलाउन सक्नुभएन । जनतालाई सास्ती दिनुभयो । लोकतान्त्रिक संस्थालाई समाप्त गर्नुभयो । राष्ट्रिय एकता र अखण्डतालाई बोलीबाट धरापमा पार्ने कोसिस गर्नुभयो । जनताले ओली सरकार नहटाएसम्म घर फर्किन्नौं भनेपछि उहाँ हट्न बाध्य हुनुभयो । एकचोटि असफल भइसकेको व्यक्तिलाई अब प्रधानमन्त्री बनाउनुहुन्न ।’

यादवले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा तीन वर्षसम्म यसअघिको ओली सरकारले गर्न नसकेको काम गरेको दाबी गरे । उनले भने, ‘सरकारले भर्खरै बजेट ल्याएको छ । अब द्रुत गतिमा विकासको काम सुरु हुन्छ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै गर्दा उहाँले चैत/वैशाखभित्र खोप दिन्छु भन्नुभएको थियो । उहाँले समयमै सबैलाई खोप उपलब्ध गराउनुभयो । स्थानीय तहको चुनाव पनि एकै चरणमा गर्नुभयो । त्यो पनि निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नुभयो । देउवा सरकारले श्रीलंकाको हालतमा जानबाट देशलाई बचाएको छ । यी सबै कामका लागि प्रमुख प्रतिपक्षी दल र यसका नेताहरूले पनि थ्यांक्स भन्नुपर्छ । आगामी निर्वाचनमा कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बन्दै छ ।’

उनले आफूले नेपाली जनताको मुड हेरेको भन्दै आगामी निर्वाचनमा स्वतन्त्र उम्मेद्‌वारहरूले एक/दुईवटा ठाउँमा जित्न सक्ने तर एमालेले एक सिट पनि नजित्ने ठोकुवा गरे । उनले आगामी निर्वाचनमा सत्तापक्षीय गठबन्धन एकताबद्ध भएर जाने दाबी गरे । निर्वाचनका लागि सिट बाँडफाँडको काम भइरहेको उनको भनाइ छ । उनले भने, ‘म अहिले नै भनिदिन्छु यो निर्वाचन ९० प्रतिशत गठबन्धनले जितिसिक्यो । जनता अहिले गठबन्धनसँगै छन् । एमालेसँग जनताको वितृष्णा छ। एक वर्षमा हामीले जनतामा आशा जगाएका छौं ।’

उनले १६५ सिटमध्ये आफूहरूको दाबी १०० सिटमा रहेको सुनाए । तर, गठबन्धनभित्र सहमति कायम गर्न ९० सिटसम्म मान्न सकिने उनको भनाइ छ । उनले गठबन्धनको महत्त्वपूर्ण घटकका रुपमा रहेको नेकपा (माओवादी केन्द्र) लाई सन्तुष्ट बनाएर गठबन्धनभन्दा बाहिर जान नदिने पनि विश्वास दिलाए । उनले भने, ‘माओवादीलाई जति दिनुपर्ने हो, त्यो दिन्छौं । हामी माओवादीलाई सन्तुष्ट गरेर हामीभित्रै राख्छौं । कांग्रेस आफैं शक्तिशाली छ । हामी सुध्रिएर नै जनता जोगाएका छौं ।’ उनले एमालेलाई लाजै नभएको पार्टीको पनि संज्ञा दिए । यस्तै, महाकाली सन्धि गलत हो भने केपी ओली पनि गलत भएको उनको टिप्पणी थियो ।

प्रतिक्रिया