पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बदली !

काठमाडौं । देशको पहाडी भू-भागको मौसम अहिले आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (आज) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यस्तो भोलि (शनिबार) दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाखाकाले जनाएको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।








प्रतिक्रिया