मंगलबार, जेठ १, २०८१

मिर्मिरे लघुवित्तको कर्जा गुणस्तर नियन्त्रण तालिम

नेपालखोज २०७९ साउन २७ गते १३:२७

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य सञ्चालनसम्बन्धी तालिम दिएको छ । संस्थाले मधेस प्रदेश प्रादेशिक कार्यालय मातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीलाई साउन २३ र २४ गते एक चरण २४ र २५ गते एक गरी दुई चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य सञ्चालनसम्बन्धी तालिम दिएको हो ।

बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरले रौतहटस्थित एक होटेलमा चरणबद्ध आवासीय तालिम दिएको हो । संस्थाका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहोराको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

मधेस प्रदेशका प्रादेशिक प्रमुख रामकिशोर चौधरीले सञ्चालन गरेको तालिममा कर्जा गुणस्तर नियन्त्रण सम्बन्धमा वित्तीय संस्थाका कर्जा तथा असुली विभाग प्रमुखले मुख्य रुपमा सहजीकरण गरेका थिए । स्वागत मन्तव्य प्रादेशिक उपप्रमुख षडेन्द्रप्रसाद त्रिखत्रीले दिएको कार्यक्रम कलैया शाखाका प्रमुख बमबहादुर चौधरीले कार्यसञ्चालन सम्बन्धमा सहजीकरण गरेका थिए ।

लघुवित्त क्षेत्रमा हुन सक्ने कर्जा जोखिमसँगै कार्यसञ्चालनमा प्रभावकारिताको व्यवस्थापन गर्न कर्मचारीहरुलाई समय-समयमा थप ज्ञान, सीपको विकास प्रवर्द्धन गर्नु आवश्यक भएकाले वित्तीय संस्थाले कर्मचारीलक्षित तालिम गरेको सहायक कार्यकारी प्रमुख बोहोराले बताए ।

कार्यक्रममा संस्थाको मधेस प्रदेशका २५ शाखाका अतिरिक्त वाग्मती प्रदेशका सिन्धुलीस्थित शाखाका कर्मचारीहरु एवं सहजकर्तासमेत गरी लगभग सयजना कर्मचारी उपस्थित थिए । वित्तीय संस्थामा करिब सात सय ५० कर्मचारी कार्यरत छन् भने एक सय ४८ शाखा सन्जालमार्फत करिब एक लाख ३५ हजार सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान भइरहेको छ । वित्तीय संस्थाले यसअघि स्वेडा लघुवित्त र नागबेली लघुवित्तलाई प्राप्ति गरिसकेको छ । हाल बुद्ध ज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको जनाएको विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रतिक्रिया