शुक्रबार, वैशाख १४, २०८१

कर्मचारी अभावमा सेवाग्राहीलाई सास्ती

नेपालखोज २०७९ साउन २७ गते २०:५१

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।

कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ का रामु गुरुङले राहदानी फाराम भर्न झण्डै तीन घण्टा लाइनमा बस्नुपरेको दुखेसो पोखे ।

पछिल्लो समयमा कार्यालयमा राहदानीको लागि आउने सेवाग्राहीको सङ्ख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

दैनिक सय जना क्षमताको लागि राहदानी फाराम खुलेपनि अहिले दुई सय बढी सेवाग्राही आउन थालेपछि कर्मचारीलाई काम गर्न कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए ।

बढी भिड हुने भएकोले टाढाबाट आएका सेवाग्राहीलाई बास बस्न नपरोस् भनेर कार्यालय समयपछि पनि सेवा दिन थालिएको उनले जानकारी दिए । एकै स्थानबाट सेवाग्राहीलाई सेवा दिन गाह्रो भएपछि जिल्लाको पूर्व र पश्चिम दुई स्थानमा इलाका प्रशासन कार्यालय थप गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए ।

मन्त्रालयबाट चालु आर्थिक वर्षभित्र एउटा इलाका प्रशासन कार्यालय थप गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ । उनले भने, “पश्चिम क्षेत्रमा यसै आवदेखि सेवा दिने गरी इलाका प्रशासन कार्यालय स्थापना गर्न मन्त्रालयले तदारुकता देखाएको छ ।”

दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कर्मचारी नहुँदा झेल्नुपरेको समस्याका विषयमा गृह मन्त्रालय र विभागमा जानकारी गराइएपछि चालु आर्थिक वर्षमा एउटा इलाका कार्यालय थप गर्ने कार्य अघि बढेको गैरेले जानकारी दिए ।

पहिलेको जनसङ्ख्याअनुसार दरबन्दी कायम भएपनि अहिले जनसङ्ख्या बढेर दोब्बर हुँदा पुरानै दरबन्दीका कर्मचारीले सेवा दिन कठिनाइ भएको उनले स्वीकार गरे ।

अहिले प्रायः काम कम्प्युटरमार्फत हुने भएपनि अपरेटरको दरबन्दी रिक्त भएपछि करारमा कर्मचारी नियुक्त गरी कामकाज गर्नुपरेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन, सङ्घ सस्था दर्ता, नवीकरण, पेन्सनसम्बन्धी, दलित जनजाति प्रमाणित, नागरिकताको प्रतिलिपिलगायत कामका लागि दैनिक तीन सयभन्दा धेरै सेवाग्राही आउने गरेका छन् । रासस

प्रतिक्रिया