सुदूरपश्चिममा ‘ओल्के’ मनाइँदै

नेपालखोज २०७९ भदौ १ गते ११:२३

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मंगलबार नै माइत जाने तयारीमा जुटेकी हुन् । उनले ओल्केस्वरुप माइत लैजान आफ्नो बारीमा रहेका तरकारी कर्कलो, चिचिन्डा, भिन्डी, भान्टालगायतका तरकारीको पोको पारीन् । बिहानै माइत हिँडेकी उनले मान्यजनको सम्मानस्वरुप यो पर्वका अवसरमा कोसेली लगेर जाने गरिएको प्रचलन गरेको जानकारी दिइन् । ‘माइत जाने अवसर पनि मिल्छ, घरमा भएका तरकारी तथा फलफूल लगेर जाने गरिन्छ’, विकले भनिन्, ‘माइत गएर मीठो खाने, भेटघाट हुने र रमाइलो गर्ने गरिन्छ ।’

टीकापुरकी रमा देवकोटा पनि ओल्के पर्वका अवसरमा कोसेली बोकेर मामाघर हिँडेकी छन् । उनी हरेक वर्षजसो ओल्के पर्वको अवसरमा मामाघर जान्छीन् । ‘मामाघर जान्छु, मीठो खानपान गर्ने र रमाइलो गरिन्छ’, उनले भनिन्, ‘ओल्के लिएर गएपछि मामाघरमा दान-दक्षिणा तथा लुगाकपडा दिने चलन छ । आफूले सकेको दिने चलन छ ।’

वर्षात्को समयमा बाढी, पहिराजस्ता विपद्का घटना धेरै हुन्छन् । ओल्के पर्वमा विपद्बाट ज्यान र सम्पत्ति जोगिएको भन्दै खुसीयालीस्वरुप मनाउने गरिएको पनि बताइन्छ । ओल्के पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप ‘ओल्को’ अर्थात् उपहार दिने चलन छ । उपहारमा हरियो सागपात तथा फलपूmल अनिवार्य दिइन्छ ।

वर्षायामका वैशाखदेखि साउनसम्मको समयमा रोगव्याधि तथा महामारी फैलने जोखिम रहन्छ । यही समयमा विभिन्न प्राकृतिक विपत्ति आउनसक्ने समय मानिन्छ । यस्तो संकटग्रस्त समयमा मरिन्छ कि भनेर वैशाख संक्रान्तिमा विशु मनाउने र बाँचेको खुसीयालीमा भदौ संक्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको अगुवाहरु बताउँछन् ।

साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको संस्कृतिका जानकार तथा वीरेन्द्र विद्या मन्दिरका प्रधानाध्यापक फणिन्द्रराज रेग्मी बताउछन् । ‘साउन मसान्तसँगै सुदूरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ । यो पर्वसँग सुदूरको परम्परा, संस्कृति र एकअर्काप्रतिको सम्मान जोडिएको छ’, उनी भन्छन्, ‘हरेक पर्वले मानिसलाई सभ्य र एकअर्काप्रतिको सम्मान बढाउँछ ।’ पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।-रासस

प्रतिक्रिया