‘लोकतन्त्र बिना विकास सम्भव छैन राजनीतिक लोकतान्त्रिकरणबाट समाज रुपान्तरण गर्नुपर्छ’

नेपालखोज २०७९ भदौ १ गते १९:२०

काठमाडाैं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले हालको राजनीतिक कोर्स २०४६ सालको जनआन्दोलनको अविभारा भएको र प्रधानमन्त्री एवं कांग्रेस सभापतिका रुपमा त्यसलाई निष्कर्षमा पु¥याउने जिम्मेवारी शेरबहादुर देउवाको काँधमा रहेको बताएका छन् ।

गत स्थानीय निर्वाचनमा विजयी बाँके र वर्दियाका जनप्रतिनिधिहरुका लागि काठमाडौंमा आज आयोजित अन्तक्र्रियामा सहमहामन्त्री राठौरले २०४६ सालमा गणेशमान र कृष्णप्रसाद भट्टराईले सुरु गरेका कम्युनिष्टहरुको लोकतान्त्रिकरण प्रक्रियालाई २०६२/२०६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाले माओवादीको लोकतान्त्रिकरण गरेर अघि बढाएकाे बताए ।

महामन्त्री राठौरले लोकतन्त्र बिना विकास सम्भव नभएकाले राजनीतिक लोकतान्त्रिकरण मार्फत् समाज रुपान्तरण गर्नुपर्ने बताए । पछिल्लो समयमा राजनीतिमा बलिदान, त्याग र तपस्याजस्ता विषयलाई गौण ठान्न थालिएकोप्रति लक्षित गर्दै सहमहामन्त्री राठौरले त्याग र तपस्या हरेक समयमा राजनीतिको मूलमन्त्र हुने र त्याग र तपस्या बिनाको राजनीति दीर्घकालीन हुन नसक्ने बताए ।

महामन्त्री राठौरले संवैधानिक व्यवस्था, कमजोर संगठन र धैर्यको कमीका कारण निर्वाचनमा गठवन्धन गरेर जानु पर्ने बाध्यता रहेको बताउनुभयो । महामन्त्री राठौरले नेपाली काँग्रेस ऐतिहासिक एवं विचारप्रधान पार्टी भएको र पार्टी जीवनको अगाडी व्यक्ति गौण हुने भएकाले आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी लाग्न नेता, कार्यकर्तालाई आग्रह पनि गरे ।

पार्टी केन्द्रीय समितिले गठवन्धन गरेर जाने निर्णय गरिसकेको सन्दर्भमा आगामी निर्वाचनमा गठवन्धनका उम्मेदवारलाई जिताउन इमान्दार भएर भूमिका खेल्न पार्टीबाट विजयी जनप्रतिनिधिहरुलाई उनले निर्देशन पनि दिए । यसपटक गठवन्धनमा जाने निर्णय भैसकेकाले आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने गरी कांग्रेसका नेता कार्यकर्ता एक ढिक्का भएर संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाई थियो ।

कांग्रेसको वर्तमान नेतृत्वमा ४ पुस्ता र विभिन्न क्षेत्र, वर्ग एवं पक्षको प्रतिनिधित्व रहेको भन्दै सहमहामन्त्री राठौरले कांग्रेसको नेतृत्वमा क्रमशः युवा सहभागिता बढ्दै गएको पनि बताए ।

प्रतिक्रिया