शनिबार, वैशाख ८, २०८१

रेफ्रिजिरेटरको पानी कति हानिकारक ?

डा. हेमराज कोइराला २०७९ भदौ २ गते ९:१८

गर्मी हुँदा हामीमध्ये अधिकांशले रेफ्रिजिरेटरको पानी पिउने गरेका छौं । गर्मीमा शीतलता प्रदान गर्ने भएकाले धेरैले रेफ्रिजिरेटरको पानी पिउने गरेका छन् तर रेफ्रिजिरेटरको चिसो पानीले शीतलता त दिन्छ नै साथै अनेकौं स्वास्थ्य समस्याहरू पनि दिन्छ । यसर्थ चिसो पानी पिउनुअघि यसले गर्ने निम्न लिखित हानिहरूको विषयमा पनि जान्न आवश्यक छ ।

के-के छन् हानि ?
१. पाचन समस्या :
 चिसो पानीको सेवनले तपाईंको पाचन क्रियालाई प्रभावित गर्न सक्छ । चिसो पानी वा कोल्ड्रिंकसको सेवन गर्दा चिसोको कारणले पेटका रक्तनलीहरु संकुचित हुने र पाचनका लागि आवश्यक पाचन रसको उत्सर्जन गर्न र पाचनपश्चात उत्पादित पोषक तत्त्वहरूको अवशोषण पनि राम्ररी हुन सक्दैन । फलतः पाचनक्रिया नराम्ररी प्रभावित हुने गर्छ । यसैगरी पाचन इन्जाइमहरूको उत्कृष्ट कार्यका लागि आवश्यक पर्ने उपयुक्त तापक्रम पनि चिसो पानीको सेवनपश्चात घट्ने हुँदा इन्जाइमहरू निष्क्रिय भई पाचन प्रभावित हुने गर्छ । यसै पनि चिसो पानी पिएपछि घटेको तापक्रमलाई सन्तुलित गर्न शरीरले अतिरिक्त ऊर्जा खर्च गर्नुपर्ने हुन्छ जसको कारणले पनि पाचन प्रभावित हुने गर्छ । यी सबै कुराहरू हुँदा अपच, अजीर्ण, कब्जियत, आउँ र पायल्सजस्ता समस्या देखापर्छन् ।

२. हृदय गति कम हुने : चिसो पानीको सेवनपश्चात चिसोका कारण पेटको स्नायू आपूर्ति गर्ने भेगस नर्भ उत्तेजित हुन पुग्छ । भेगस नाडी उत्तेजित हुँदा हृदय गति कम हुने र हृदयको कार्यक्षमता पनि घट्छ ।

३. शक लाग्न सक्छ : कडा परिश्रमपश्चात चिसो पानीको सेवन गर्दा हामीलाई सर्कुलेटरी शक लाग्न सक्छ । यसर्थ कडा परिश्रम तुरुन्तपश्चात पानी पिउन र त्यसमा पनि चिसो पानी पिउन सर्बथा वर्जित गरिएको छ । कडा श्रमपश्चात चिसो पानी पिउँदा शरीरले परिश्रमका क्रममा उत्पादन गरिरहेको उष्मालाई चिसो पानीले तत्काल रोकिदिने हुँदा शक लाग्न सक्छ । यसैगरी श्रमका बेलामा पिइएको पानीलाई शरीरले तत्काल अवशोषण पनि गर्न सक्दैन फलतः पेट दुख्ने पखाला लाग्ने र शकको अवस्थासमेत आउन सक्छ ।

४. तौल बढाउने : चिसो पानीको सेवनले शरीरको मेटाबोलिजमलाई पनि प्रभावित बनाउने गर्छ । फलतः बोसो पग्लिने क्रिया प्रभावित हुन जाँदा तौल बढ्ने र भुँडी लाग्नेजस्ता समस्या देखापर्ने गर्छ ।

५. प्रतिरक्षा प्रणालीलाई कमजोर पार्ने : चिसो पानीको सेवनले हाम्रो प्रतिरक्षा प्रणालीलाई समेत प्रभावित पार्ने हुँदा हामीलाई रूघा लाग्ने, गला बस्ने, खोकी लाग्ने र दम बढ्नेजस्ता समस्याहरू देखापर्ने गर्छ ।

६. रोगको लक्षणहरू बढाउने : चिसो पानीको सेवनले एकालेसिया, दम, खोकी र माइग्रेनजस्ता समस्याको लक्षणहरूलाई बढाउने गर्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया