भोजपुरका किसानको रोजाइँमा सतुवा खेती

नेपालखोज २०७९ भदौ ३ गते १३:३७

भोजपुर । बहुउयोगी मानिने जडीबुटी सतुवा खेती भोजपुरका किसानको रोजाइँमा परेको छ । शक्तिवर्द्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित बनेका हुन् ।

सतुवाको खेतीमा यहाँका तीन सय बढी किसान आबद्ध छन् । पछिल्लो मूल्यमा केही गिरावट आए पनि किसानमा यसको खेतीप्रतिको आकर्षण उस्तै रहेको छ । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगको लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बाजस्तै शक्तिवर्द्धक हुने व्यवसायीले बताउने गरेका छन् ।

केही वर्ष अगाडिसम्म प्रतिकेजी १८ देखि २० रुपैयाँसम्ममा बिक्री भएको भए पनि पछिल्लो समयमा मूल्यमा केही गिरावट आएको किसान बताउँछन् । अहिले पनि प्रतिकेजी पाँचदेखि सात हजारसम्म बिक्री हुने षडानन्द नगरपालिका १० तीनतलेका कृषक पेमदोर्ची शेर्पाले बताए । ‘सतुवा खेती आम्दानीको राम्रो स्रोतको रुपमा स्थापित भएको छ,’ उनले भने, ‘विगतमा मूल्य धेरै राम्रो थियो । अहिले मूल्यमा केही कमी आएको छ तर किसानको यसप्रतिको आकर्षण घटेको छैन ।’

केही वर्ष अघिसम्म यस क्षेत्रका किसानले एक पटकमा १० मनसम्म संकलन गरेर बिक्री गरेको किसान शेर्पाले बताए । यहाँका सबै ३७ घरपरिवारले सतुवाको खेती गरिरहेको उनले जानकारी दिए । उनले आफ्नो पाँच रोपनी क्षेत्रमा सतुवाको व्यावसायिक खेती गरिरहेको बताए । उनले भने, ‘मैले पाँच रोपनी क्षेत्रमा खेती गरिरहेको छु । मेरो फर्ममा अहिले करिब दुई मनको हारहारीमा उत्पादन भएको छ । यसलाई एक मुष्ट बिक्री गर्ने हो भने पाँचदेखि छ लाखसम्म आम्दानी हुन्छ ।’

घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको किसान बताउँछन् । त्यस्तै यसलाई क्यान्सर, ग्याष्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने किसानको भनाइ छ । प्रायः एउटा बोटबाट एउटामा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले १६ वटासम्म डाँठ हानेको यहाँस्थित तिम्माका किसान मानबहादुर राईले बताए ।

उनले भने, ‘मैले यसको १० वर्षबाट व्यावसायिक खेती गरिरहेको छु । खासमा धेरै ठाउँमा प्रायः एकदेखि दुई वटासम्म डाँठ आएको हुन्छ तर मेरो फर्ममा लगाएको सुतवामा १६ सम्ममा डाँठ पलाएको छ । मैले दुई सय ग्रामसम्मको सुकेको सुतवा फलाएको छु । सायदै यस्तो ठूलो सुतवा कम फलेको पाइन्छ ।’

राम्रो ढङ्गले खेती गर्नसके थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने किसान खड्गबहादुर राउतको भनाइ छ । आफूले दुई रोपनी क्षेत्रमा खेती गरिरहेको भए पनि सतुवाको गाँनो, बिरुवाबाट बिक्री गरेर वार्षिक पाँचदेखि ६ लाखसम्म आम्दानी लिने गरेको किसान राउतले जानकारी दिए । उनले भने, ‘सतुवालाई राम्रो ढङ्गले स्याहार गरेर खेती गर्नसके जमिन पनि खास धेरै चाहिँदैन । थोरै जमिन भए पनि आम्दानी राम्रो हुन्छ ।’ तर पछिल्लो समय सतुवामा ढुसी लाग्नेलगायतको रोग देखिन थालेको किसान राउतको भनाइ छ । गानोमा समस्या नभए पनि बोट भने ढुसीले मर्ने गरेको उनको भनाइ छ ।

बिरुवा उम्रिएको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ । यसको जमिनमुनिको गानो अदुवाजस्तै देखिन्छ । सबै पात सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । यसको डाँठलाई तरकारीको रुपमा खादा मिठो हुने किसानको भनाइ छ ।

सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउँछ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर-पश्चिम फर्किएको भूगोलमा उपयुक्त हुने किसानले बताउने गरेका छन् । सतुवा विशेष गरेर बिक्रीका लागि भारत र चीन जाने व्यवसायी बताउँछन् । सरकारले बजारीकरणमा ध्यान दिए सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने कृषक गुणराज राउतले बताए । उनले भने, ‘सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । यसको बजार मूल्य अन्य जडीबुटीको तुलनामा राम्रो छ तर पछिल्लो समयमा आएर मूल्यमा केही गिरावट आएको छ । त्यही पनि अन्य बालीको तुलनामा बिरुवा तथा गानाको मूल्य धेरै राम्रो छ ।’

त्यस्तै टेम्केमैयुङ गाउँपालिका ५ मझौलेका स्थानीय कृषक एकराज विष्टले पनि व्यावसायिकरुपमा सतुवाको खेती गरी रहेको बताए । किसान विष्टले करिब दुई रोपनी क्षेत्रमा खेती विस्तार गरेको जानकारी दिए । सुतवाबाट राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । ‘हाम्रो क्षेत्रमा सतुवा खेतीमा धैरै साथीहरु आबद्ध छन्,’ उनले भने, ‘विगतका वर्षको तुलनमा मूल्यमा भने गिरावट आएको छ । खेतीमा हामी किसान उत्साहित भएर लागेका छौँ । मूल्य सुधार होला भन्ने आशा छ ।’

सुतवा टेम्केमैयुङ गाउँपालिकाको वडा १ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका २ हेलौछा, षडानन्द नगरपालिका ९ किमालुङ, वडा १० साम्पाङ, वडा १३ बोयाको माथिल्लो भेग र आमचोक गाउँपालिका ४ र साल्पासिलिछो गाउँपालिका ४ खाटम्मालगायतमा तीन सय बढी कृषकले व्यावसायिक खेती गर्दै आएका छन् ।

जिल्लामा चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटी हुने गरेको छ । धेरै प्रजातिका जडीबुटी पाउने भए पनि पहिचान गर्न गाह्रो भएको तथा सोसम्बन्धी ज्ञानको अभावले त्यस्ता प्रजातिका जडीबुटीको खेती गर्न समस्या हुने गरेको किसान बताउँछन् ।-रासस

प्रतिक्रिया