मंगलबार, चैत ६, २०८०

एनएफपिजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने

नेपालखोज २०७९ भदौ ३ गते १६:३१

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त समूहले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । असोज ६ गते काठमाडौंमा आयोजना गरिने विशेष समारोहमा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

एनफपिजेका पूर्वअध्यक्षद्वय मीनरत्न बज्राचार्य र विकास रौनियार तथा वाइडलाइफ फोटोग्राफर चुङ्वा लामालगायत फोटो पत्रकारको सहभागिता रहेको उक्त कार्यक्रममा पूर्वअध्यक्षद्वयले शुभकामना मन्तवय व्यक्त गर्नाका साथै नेपालमा फोटो पत्रकारितामा भोग्नुपरेका समस्याबारे चर्चा गरे । उक्त दिवसका अवसरमा समूहका महासचिव नवराज श्रेष्ठले नयाँ तथा पुराना फोटो पत्रकारलाई १६ विधामा अवार्ड प्रदान गरिने जानकारी गराए । विशेष समारोहमा संस्थापक सदस्यलगायत नेपालका अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको उनले बताए । उक्त अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२’ राखिएको जनाइएको छ ।

लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि रु ५० हजार प्रदान गरिनाका साथै दैनिक जीवन, महिला फोटो पत्रकारिता विधा, पर्यटन तथा संस्कृति, आर्थिक, राजनैतिक, मनोरञ्जन, खेलकुँद, स्वतन्त्र फोटोसंग सम्बन्धित अवार्ड रहेका छन् । यसैगरी सातवटै प्रदेशबाट एक/एक उत्कृष्ट फोटो पत्रकारलाई अवार्ड प्रदान तथा सम्मान गरिने कार्यक्रम रहेको समूहले जनाएको छ । राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्षलगायत सल्लाहाकार र कार्यक्रम संयोजकलगायत बढीमा पाँच जनाको छनोट समितिले पुरस्कारबारे अन्तिम निर्णय लिने समूहका अध्यक्ष वन्तले जानकारी दिए ।

प्रतिक्रिया