‘शान्तिप्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्तिप्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार उनकै निवास खुमलटारमा भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्तिप्रक्रियाको सफलताको कामना गरेको हो । नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्विट्जरल्यान्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई भेटी नेपालको शान्तिप्रक्रिया टुंगोमा पुग्दै गरेकामा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने बताएका हुन् ।
नेपालको शान्तिप्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरुले बताएको अध्यक्ष दाहालको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ । यो अवसरमा उनीहरुले गम्भीर मानव अधिकार उल्लंघनका घटना र पीडितको पुनरावेदनको अधिकारकाबारे चासो राखेका थिए ।
अध्यक्ष दाहालले नेपालको शान्तिप्रक्रियामा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्तिप्रक्रिया टुंगोमा पुग्दै गर्दा उनीहरुले देखाएको सामूहिक शुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरे । विस्तृत शान्तिसम्झौता र संक्रमणकालीन न्यायको संवेदनशीलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने उनले विश्वास व्यक्त गरे । ’वर्तमान गठबन्धन सरकार शान्तिप्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन लागिपरेको छ,’ प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया