भट्टराई भन्छन्- नयाँ सोच र विचार भएकालाई स्थापित गर्नुपर्छ

नेपालखोज २०७९ भदौ ४ गते २०:४८

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो वडाबाट आगामी संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बाक्लो उपस्थितीकाबीच आयोजित कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो १ नम्बर क्षेत्रमा कांग्रेसबाट संघको उम्मेद्वार हुन् चाहेको घोषणा गरे । ‘यो आफ्नो वार्ड पनि हो । अहिले धेरै काम गरेको छु’, उनले भने ‘यो क्षेत्र विकासको सबै जिम्मा म लिनेछु ।’
नयाँ विचार र योजना भएकालाई टिकट दिए तनहुँभर जित

देशैभर नयाँ अनुहारले चुनाव जित्ने प्रवृत्ति स्थानीय तह निर्वाचनमा देखिएको भन्दै उनले भने नयाँ मानिस, विचार, योजना र कार्यक्रमको खोजी देशले गरेको । देशका महत्वपूर्ण सहरमा स्वतन्त्र कामै नगरेका विजयी भएका छन् ।

उनले कांग्रेसको झण्डा देशैभर फहराउन पनि नयाँ सोच, कार्यक्रम, योजना र दृष्टिकोण भएकालाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए । पुरानालाई समानुपातिकमा अनि नयाँलाई उम्मेदवार बनाएर उनीहरुको संघर्ष, ज्ञान, क्षमता र समर्पण र त्यागलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ, उनले भने ।

उनले नयाँ सोच, विचार, योजना अनि दृष्टिकोण भएकालाई पार्टीले टिकट दिएमा तनहुँका सबै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन सक्ने भन्दै कांग्रेस जिताउन लाग्नुपर्ने बताए । विगतमा तत्कालीन एमालेका कृष्णकुमार श्रेष्ठले जितेको क्षेत्रमा अहिले कांग्रेसबाट कसले टिकट पाउला भन्ने चर्चा छ । यस अघि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सोही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । 

प्रतिक्रिया