सोमबार, वैशाख १५, २०८२

‘पुरातात्त्विक सामग्रीलाई अभिलेखीकरण गरी संग्रहालय बनाइनु ठूलो उपलब्धि’ (भिडियोसहित)

नेपालखोज २०७९ भदौ ६ गते १७:४१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उद्घाटन गरेका छन् । संग्रहालयमा धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्तिहरु, ढुंगाका प्रस्तरकला, संस्कृति झल्काउने वेशभूषा, गरगहना, मुकुण्डो एवं पुरातात्त्विक महत्त्वका काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक, प्राचीन मुद्रा तथा मूर्त-अमूर्त सम्पदाका सामग्रीहरु राखिएको छ ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले पाशुपत क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक महत्त्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतीकरण गरी संग्रहालयका रुपमा विकास गरिनु ठूलो उपलब्धि भएको बताए ।

पशुपति परिसर सभ्यताको पहिचान बोकेको स्थान रहेको बताउँदै उनले यसको संरक्षण, व्यवस्थापन र सरसफाइमा समेत ध्यान दिनुपर्ने बताए । २०७२ को भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण पशुपति महास्नानघर भवनलाई नेपाल इन्भेष्टमेन्ट बैंकले पुनर्निर्माण गरेको हो । पुनर्निर्माणपछि बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ ।

बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा पाँच करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब चार करोड गरी कुल नौ करोडभन्दा बढी सहयोग गरेको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पशुपति संग्रहालय तथा महास्नान भवनको संरक्षण र मर्मतसम्भारमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्त्री श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको प्रयास अन्य बैंक तथा वित्तीय संस्थाका लागि पनि अनुकरणीय रहेको बताए ।

प्रतिक्रिया