बुधबार, वैशाख १२, २०८१

लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ

नेपालखोज २०७९ भदौ ७ गते १२:३०

काठमाडौं । लागुऔषधसहित प्रहरीले काठमाडौं र वीरगन्जबाट ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट २८ सय १० एम्पुल नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन, फेनारगन र डाइजेपामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १८, सैंबु बस्ने ३८ वर्षीय कानविन श्रेष्ठ, सुनसरी धरान उपमहानगरपालिका १० बस्ने ४३ वर्षीय ध्रुव लिम्बू र पर्सा विन्दबासिनी गाउँपालिका ४ बस्ने ४० वर्षीय जमुना साह तेली रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूमध्ये श्रेष्ठलाई बुप्रेनोर्फिन २४३ एम्पुल, फेनारगन २४३ एम्पुल, डाइजेपाम २४३ एम्पुल र नगद २० हजार रूपैयाँसहित बिहीबार ललितपुर २, झम्सिखेलबाट, लिम्बूलाई बुप्रेनोर्फिन ५६० एम्पुल, फेनारगन ५८४ एम्पुल र डाइजेपाम ७३७ एम्पुलसहित र तेलीलाई बुप्रेनोर्फिन ९८ एम्पुल र डाइजेपाम १०२ एम्पुलसहित शुक्रबार काठमाडौंको कालोपुलबाट पक्राउ गरेको हो ।

उक्त लागुऔषधहरू तेलीले लिम्बूमार्फत श्रेष्ठलाई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका श्रेष्ठ यसअघि कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ४ महिना कैद भुक्तान गरी छुटेका थिए ।

यस्तै पर्साको वीरगन्ज महानगरपालिका १६, रजतजयन्ती चोकबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित तीन जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका १० बस्ने २७ वर्षीय सोनु मिश्र, १९ वर्षीय राहुल कुमार नामका र १९ वर्षीय नै दिपुकुमार रहेका छन् । राहुल र दिपकुमार भारतीय हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया