किन कुटिए ‘विप्लव’का कार्यकर्ता ?

नेपालखोज २०७९ भदौ ७ गते १३:१०

काठमाडौं । काभ्रेको बनेपामा बन्द गराउन हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्तालाई स्थानीयले कुटपिट गरेका छन् ।

बनेपा नगरपालिका, चारदोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालीकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन् । विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्द गराउन चारदोबाटोमा भेला भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिँदै थियो । प्रहरीको घेरा तोडेर अघि बढेका राउतले बा.३ख २२६ नम्बरको बस तोडफोड गर्न थालेपछि बसका कर्मचारी र स्थानीय युवा मिलेर उनलाई कुटपिट गरेका हुन् ।

यस्तै सवारीसाधन बन्द गराउन खोज्ने राउतसहित आठ जनालाई प्रहरीले बनेपाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोट घर भएका १९ वर्षीय मनीष विक, कालीकोटकै १९ वर्षीया वसन्ती विक तथा २७ वर्षीय जयराज लोरलगायत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया