‘बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी हुन्छ’

मोरङ । मोरङको सुन्दरहरैंचा १ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लगेका हुन् ।
‘बाख्रापालनबाट वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भए,’ उनले भने । उनको फार्ममा उन्नतजातका बयर, जमुनावारि र लोकल जातका गरेर ७० खसीबाख्रा छन् । सुरुआतमा बुढाथोकीले चार बाख्रा र स-साना पाठापाठीबाट व्यावसाय थालेका हुन् । हाल उनको फार्ममा बग्रेल्ती खसीबाख्रा देख्न सकिन्छ । बुढाथोकी परिवार खसीबाख्रा र पाठापाठी खरिद बिक्रीबाट मनग्य आम्दानी आर्जन गर्दै आएको छ ।
बुढाथोकी जिल्लामै अगुवा र मेहेनती कृषकका रुपमा परिचित हुन् । उनीलाई व्यवसायमा अघि बढ्न बुवा खगेन्द्रको पनि भरपर्दो साथ सहयोग रहेको छ । ‘गाई, भैँसी र कुखुरासमेत पालेको छु,’ उनले भने । स्वदेशमै बसेर कृषि फार्म सञ्चालन गरेका बुढाथोकीले केहीलाई रोजगारीसमेत प्रदान गरेनन् । बाह्र कक्षासम्म अध्ययन गरेका उनले फार्म विस्तारको योजना बनाएका छन्।
चार बिघा जमिनमा खेतीपाती गर्दै बुढाथोकीले खसीबाख्रा र गाईभैँसीका लागि घाँस परालको जोहोसमेत गरेका छन् । कृषि पेशाका लागि कहीँकतैबाट अहिलेसम्म सहयोग पाउन नकसेको उनी बताउछन् । ‘सरकारले अनुदान उपलब्ध गराएर युवा जनशक्तिलाई कृषि पेशामा लाग्न हौसला दिनुपर्छ,’ बुढाथोकी भन्छन् । बाख्रापालनकै आम्दानीले घरपरिवारको खर्च टारेर छोराछोरीलाई समेत शिक्षादिक्षा दिन सफल भएको उनको भनाइ छ । उनको कर्मले गाउँमा अरुलाई पनि हौसला मिलेको छ ।
सुन्दरहरैंचा नगरपालिकाको उत्तरतर्फ चारकोशे झाडी छ । त्यहाँ बाख्रापालन गर्न कृषकलाई सहज छ । सुन्दरहरैँचा नगर क्षेत्रमा हाल ९८ बाख्रापालनको फार्म दर्ता छन् । नगर पशु चिकित्सक जीवन चापागाईँ बाख्रापालकलाई मुख्यरुपले छेरुवा, नाम्ले, जुका, घाउ हुने, ज्वरो आउने, पेट ढाडिनेलगायत समस्याले दुःख दिने गरेको बताए । ‘यसतर्फ कृषक सचेत रहन जरुरी छ,’ उनले भने । कृषि फार्म दर्ता गरेर अघि बढ्न चाहने कृषकका लागि विविध कार्यक्रम अघि बढाउने योजना रहेको नगरप्रमुख केदारप्रसाद गुरागाईँ बताउछन् ।-रासस

प्रतिक्रिया